‘जनतालाई भ्रममा नपार्नुस’


‘जनतालाई भ्रममा नपार्नुस’

नेपालगन्ज : पूर्व सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई र नेपालगन्ज उमपहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाबीच जुहारी चलेकोछ । नेपालगन्ज उपमहानगरपालिकामा आएको करोडों बजेट काम गर्न नसक्दा फिर्ता भएको विषयलाई लिएर पूर्व मन्त्री राई र मेयर राणाबीच जुहारी चलेको हो ।

त्यसो त राई मन्त्री हुनेवित्तिकै मेयर राणासंग शीत युद्ध शुरु भएको थियो । दुवैजनाको राजनीति गर्ने थलो एउटै भएकाले कसले जनतालाई प्रभाव पार्ने विषयमा एकले अर्कोलाई पछार्ने काम त्यतीखेरदेखि नै शुरु भएको थियो ।

चाहे बागेश्वरी मन्दिरको कम्प्लेक्सको विवाद होस, चाहे ग्रीन सिटीको विवाद होस पूर्व मन्त्री राईले नेपालगन्जका जनतामाझ मैले गरेको भन्न देखाउन चाहान्छन् भने मेयर राणा पनि त्यही कुरो देखाउन चाहान्छन् । जसका कारणले नेपालगन्ज भित्र हुने हरेक विकास निर्माणका काममा एकले अर्कालाई दोषारोपण गर्ने काम चल्दै आएकोछ ।

कोरोना भाइरस संक्रमणकाबीच नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१५ मा हाईमास्ट जडानको शिलन्यास गर्न पुगेका पूर्वमन्त्री राईले पूर्वाधार विकास कार्यक्रमको खर्च हुन नसकेको डेढ करोड रकम नेपालगन्ज उपमहानगरपालिकाका कारण फ्रिज भएको आरोप लगाएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

उनले कोभिडका लागि छुट्याइएको उक्त रकमबाट भेन्टिलेटर खरिद गर्नेगरी आफुले स्थानीय सरकारलाई लिखितरुपमा अख्तियारी दिएको उल्लेख गर्दै रकम फ्रिज हुनु दुर्भाग्यपूर्ण भएको भन्दै विकासका रकममा भएको राजनीतिमा खोजतलास गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।

पूर्वमन्त्री त्यो पनि बाँकेबासी समेत रहेका राईले यस्तो आरोप लगाएपछि विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएको थियो । समाचार सम्प्रेषण भएसगैं यतिबेल मन्त्री र मेयरबीचको टकराब पुनः सतहमा आएको छ । मन्त्री राईले दिएको अभिब्यक्तिलाई खण्डन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणाले आईतबार एक विज्ञप्ती जारी गरेकाछन् ।

नेपालगन्ज उप–महानगरपालिकाले निर्वाचन क्षेत्र नम्बर- २ अन्तर्गत स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको १ करोड ५० लाख रकम फ्रिज गराएको भन्ने आरोप विभिन्न संचार माध्यमबाट जानकारी हुन आएको भन्दै गम्भीर ध्यानाकषर्ण भएको राणाद्वारा जारी विज्ञप्तीमा उल्लेखछ । मेयर राणाद्वारा जारी विज्ञप्तीमा भनिएकोछ–‘निर्णयकर्ताले आर्थिक वर्षको अन्त्यमा योजना संशोधन गरेको पत्र पठाएका कारण प्रक्रिया नै शुरु गर्न सकिएन । कुनैपनि प्रकारको भ्रममा नपर्न नगरबासी समक्ष हार्दिक अपील गर्दछु ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७७ असार ७ गतेको पत्रानुसार विनियोजन भएको रकम मध्ये खर्च नभई बचत रहेको रकम असार १५ गतेभित्र कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारमा खर्च गर्ने गरी निर्देशक समितिका सदस्यहरुको परामर्शमा संयोजकलाई जिम्मेवारी दिईएको राणाले जानकारी दिए ।

राणाका अनुसार पत्र प्राप्त भएको एकसातापछि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको निर्देशक समितिको बैठकले असार १४ गते योजनाको संशोधन गरि कोभिड–१९ को लागि आवश्यक पर्ने आईसोलेसनमा उपयोग हुने गरि भेन्टिलेटर र उपकरण भेरी अस्पताल नेपालगन्जमा जडान गर्ने निर्णय गरेको पत्र जिल्ला समन्वय समितिबाट २०७७ असार १५ गते नेपालगन्ज उपमहानगरपालिकालाई प्राप्त भएको थियो । योजना संशोधन गर्दा उप–महानगरपालिकासँग कुनै समन्वय नगरिएको राणाद्वारा जारी विज्ञप्तीमा उल्लेछ छ ।

‘निर्देशक समितिले उप–महानगरपालिकाको कोभिड– १९ राहत कोष मार्फत भेरी अस्पतालमा भेन्टीलेटर खरिद गर्ने निर्णय गरेको अवस्थामा तत्काल उपकरण खरिद गर्न सकिने अवस्था हुँदाहुँदै समन्वय नगरि निर्णय भएपछि रकम फिर्ता भएको हो’, राणाद्वारा जारी विज्ञप्तीमा भनिएको छ,– ‘कार्यक्रम अन्तर्गत नेपालगन्ज उप–महानगरपालिकामा अन्य अधिकाँश योजना समयमै सम्पन्न भएका छन् । कार्य सम्पन्न भएका र सम्पूर्ण प्रक्रिया पुरा भएका तर, विभिन्न कारणले रकम भुक्तानी हुन नसकेका दुईवटा योजनाको रकम उपमहानगरपालिकाले भुक्तानी गर्ने विषयमा सकारात्मक समेत भएका छौं ।’

यसैगरी नेपालगन्ज उप–महानगरपालिकाको बोर्ड बैठकबाट सर्वसम्मत निर्णय भई नगरका विभिन्न स्थानमा हाइमाष्ट लाईट जडान कार्य भईरहेको अवस्थामा गरिएका अनर्गल टिकाटिप्पणी संघीय ब्यवस्थाको प्रतिकुल र केन्द्रीकृत शासनको मानसिकताको उपज भएको उपमहानगरपालिकाले दावी गरेको छ ।

भेरी अस्पताललाई सुविधा सम्पन्न बनाउने कार्यमा यस क्षेत्रका निर्वाचित सांसदबाट सहयोग हुनुलाई हृदयदेखि नै स्वागत गर्दछौं भन्दै नगर प्रमुख राणाले उप–महानगरपालिकासँग कुनै सहकार्य नगरी अन्तिम समयमा हचुवाका भरमा आफुखुशी योजना संशोधन गरिएको बताए । कार्यसम्पन्न गर्नुपर्ने दिनमा निर्णय गरेर पत्र पठाउने तर, खर्च हुन नसकेको भन्दै उप–महानगरपालिकालाई दोष दिने कार्य भएका कारण कुनैपनि प्रकारको भ्रममा नपर्न सम्पूर्ण नगरबासी समक्ष अपील गर्दै राणाले नेपालगन्जको विकास निर्माणका लागि यस क्षेत्रका सांसद लगायत सबैसँग नियमित सहकार्य गरि अघि बढ्न उप–महानगरपालिका सदैब तयार रहेको सम्बद्ध सबैमा जानकारी गराएका छन् ।

पछिल्लो समय बाँकेमा बढ्दै गएको कोरोना संक्रमणको ग्राफ र यसबाट सिर्जित असहज परिस्थितीमा यहाँका सांसद, मन्त्री लगायतका सरोकारवालाको ध्यान जान नसकिरहेका बेला राजनीतिक दाउपेज र खिचातानीले विकास निर्माणका कामहरुमा बाधा पुग्दै आएकोछ ।