धमाधम पार्टी छाड्दै नेकपा कार्यकर्ता


धमाधम पार्टी छाड्दै नेकपा कार्यकर्ता

बाँके (बैजापुर) : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पछिल्ला गतिविधीबाट असन्तुष्ट रहेका स्थानीय नेता, कार्यकर्ताले धमाधम पार्टी छाड्न थालेका छन् । दुई तिहाई सरकारको नेतृत्व गरेपनि नेकपाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको, भ्रष्टाचार तथा आर्थिक अनियमिततामा डुबेकोे, सर्वहारा वर्गको पार्टीलाई कमाउने थलो बनाएको, पार्टीभित्र ईमान्दार कार्यकर्ताको भन्दा आफन्त र आसेपासेको बर्चश्व हुन थालेको, सरकारको नेतृत्व गरेका पार्टीका नेताले जनतामाझ झुट र भ्रम सिर्जना मात्रै गरेको भन्दै स्थानीय नेता, कार्यकर्ताले पार्टी छाड्न थालेका हुन् ।

पछिल्लो केहीदिन यता बाँकेका विभिन्न स्थानमा नेकपाका कार्यकर्ताले पार्टी छाड्ने क्रम चलिरहेको छ । पार्टी छाड्न थालेपछि नेकपाका जिल्ला स्तरका नेतालाई आफ्ना कार्यकर्ता रोक्न हम्य हम्य परिरहेको छ । पार्टी छाडेका नेकपाका कार्यकर्तालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पार्टीमा प्रवेश गराउन थालेका छ ।

यसैक्रममा मंगलबार राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरमा नेकपाका स्थानीय प्रभावशाली नेतासहित १ सय ५ जना ब्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ निवासी नेकपाका स्थानीय नेता नरहरी भण्डारी, हरिभक्त ओली, बिनोद रजक, गुमानसिंह नेपाली, रमेश थारु, गोविन्दसिंह ठकुरी, सुरेशकुमार थापासहित कुल १ सय ५ जना प्रवेश गरेका हुन् । भण्डारी विगत ३६ वर्षदेखी कम्युनिष्ट सिद्धान्त बोकेर तत्कालिन नेकपा एमालेको साविक बैजापुर गाविसको विभिन्न जिम्मेवारीमा रहेका थिए । यस्तै ओलीले विगत २१ वर्षदेखी कम्युनिष्ट सिद्धान्त बोकेर तत्कालिन नेकपा एमालेको विभिन्न जिम्मेवारी सम्हालेका थिए । यस्तै नेपाली र रजकले पनि तत्कालिन नेकपा एमालेको विभिन्न जिम्मेवारी सम्हालेका थिए । प्रभावशाली नेता, कार्यकर्ताले नेकपा परित्याग गरेपछि उक्त पार्टीलाई राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा ठुलै धक्का लागेको काँग्रेसको ठहर छ ।

नेकपा छाडेका सबैलाई नेपाली कांग्रेस बाँकेका उपसभापति एवम् प्रमुख अतिथी फुलाराम थारु, जिल्ला सचिव तप्त पौडेल, क्षेत्रीय सभापति माधवराम खत्री, पार्टीका जिल्ला सदस्य एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु लगायतले सदस्यता प्रदान गरी टिका र खादा ओढाएर औपचारिक रुपमा प्रवेश गराए ।

Kids Festival 2022
kanti aarogya hospital
add

पार्टी प्रवेश गरिसकेपछि मन्तब्य दिदै नेता भण्डारी र ओलीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले जनतालाई झुटो आश्वासन मात्र बाँड्ने काम गरेकाले उक्त पार्टीमा बसिरहन लाज लागेको बताए । नेकपाभित्र इमान्दार नेता, कार्यकर्ताको अब भविष्य नरहेको खुलासा गरे । ‘विगत ३६ वर्षदेखी कम्युनिष्ट सिद्धान्त मानेर तत्कालिन एमाले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर मैले काम गरे, दुई पार्टी एकिकरण पश्चात बनेको नेकपाले देश र जनताको लागि केही पनि गर्न सकेन,’ भण्डारीले भने ‘अब मैले विपीको सिद्धान्त अनुशरण गरी बाँचुञ्जेलसम्म कांग्रेसको चारतारे झण्डा र रुखमुनि बसेर पार्टीको लागि योगदान गर्नेछु ।’ नेकपामै रहेर भविष्य अन्यौल पार्नुभन्दा जनताको बहुदलिय जनवाद मान्ने कम्युनिष्ट कार्यकर्ताहरु अब नेपाली काँग्रेसको समाजवादलाई अनुशरण गर्नुपर्ने ओलीले सुझाव दिए । आफुहरु काँग्रेसमा प्रवेश गरिसकेपछि गाउँका अरु धेरै ब्यक्तिलाई पनि साथमा ल्याउने प्रतिवद्धता जनाए ।

सो क्रममा कांग्रेस जिल्ला उपसभापति फुलाराम थारु, जिल्ला सचिव तप्त पौडेल, क्षेत्रीय सभापति माधवराम खत्री, पार्टीका जिल्ला सदस्य एवम् राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, महासमिति सदस्यद्धय भानुभक्त भट्टराई र हुर्मत न्यौपाने, कांग्रेस नेतृ संगिता चौधरी, कोहलपुर नगरपालिकाका उपमेयर सञ्जुकुमारी थारु, युवा नेता राजेन्द्रकुमार श्रेष्ठ, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष एवम् पार्टीका वडा सभापति कान्छा थारु, उप–सभापति डिल्ली ओली लगायतले पार्टी प्रवेशले नेपाली कांग्रेस थप बलियो बनेको धारणा राखेका थिए ।