पूर्वमन्त्री राई र मेयर राणाबीच जुहारी जारी

‘डेढ करोड रकम फ्रिज गराउने मेयरले जनतासंग माफी माग्नुपर्छ’


पूर्वमन्त्री राई र मेयर राणाबीच जुहारी जारी

नेपालगन्ज : पूर्वमन्त्री तथा बाँके निर्वाचन क्षेत्र नम्बर– २ का संघीय सांसद मोहमद ईस्तियाक राईले नेपालगन्ज उपमहानगरपालिकाकै कारण स्थानीय पूर्वाधार विकास साझेदारीको डेढ करोड रकम फ्रिज भएको दावी गरेका छन् । पूर्वमन्त्री राई र नेपालगन्ज उमपहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाबीच जुहारी चलिरहेका बेला पत्रकार सम्मेलनमार्फत मन्त्री राईले यस्तो बताएका हुन् ।

भेरी अस्पताललाई भेन्टिलेटर खरिदका लागि उपलब्ध गराएको रकम नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाकै कारण फ्रिज भएको भन्दै पूर्वमन्त्री राईले पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले उपमहानगरपालिकाले त्यति ठूलो रकम फ्रिज हुने अवस्थामा पुर्याएका कारण माफी माग्नुपर्नेमा उल्टै उपमहानगरपालिकाले गल्ती ढाकछोप गरिरहेको आरोप लगाए ।

रकम निकासा गर्न माग गरिएको एउटा सामान्य पत्र लेख्न उपमहानगरलाई कति दिन चाहिन्छ ? पत्रकार सम्मेलनमा बोल्दै उनले जिज्ञासापूर्ण प्रश्न गरे । उनले भने–‘स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत खर्च नभएका तीन योजनाको डेढ करोड रुपैयाँ भेरी अस्पताललाई भेन्टिलेटर खरिदका लागि उपमहानगरमार्फत दिएकोमा सो रकम निकासाको एउटा पत्र नलेखेर उपमहानगरले रकम फ्रिज गराएको हो ।’
भेन्टिलेटर खरिदको डेढ करोड रुपैयाँ उपमहानगरले जानी जानी फ्रिज गराएको प्रमाणहरुसहित बुधवार पत्रकार सम्मेलन गरेका पुर्वमन्त्री तथा सांसद राईले सो रकम आफुले गर्दा फ्रिज भएको प्रमाणित भएमा राजनितिबाटै सन्यास लिने घोषणा गरे ।

उनले निर्देशक समितिको निर्णय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र, राजपत्रको सूचना, कोलेनिकाको पत्र, कोलेनिका तथा उपमहानगरपालिकाले निर्णय बुझेको लगायतको जानकारी गराएको जिल्ला समन्वय समितिको पत्र तथा २०७६ असार ३१ को हाइमास्ट लाइटको ठेक्काका लागि टेण्डर आह्वान गरेको सूचनाको प्रतिलिपीहरु पत्रकारलाई देखाउँदै उपमहानगरले जानी जानी एउटा सामान्य पत्र नलेखेर जनताको स्वास्थ्यसंग खेलवाड गरेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

पुर्वमन्त्री राईले भने–‘२०७७ साल असार १४ गतेनै निर्णय गरेर सोही दिन कोलेनिकालाई र असार १५ गते कार्यालय खुल्ने वित्तिकै उपमहानगरलाई निर्णय बुझाईएको थियो । दिनभरीको समय हुँदा हुँदैपनि रकम निकासाको एउटा पत्र नलेखेर जानी जानी सो रकम फ्रिज गराईयो । यो अक्षम्य कुरा हो, यसका लागि मेयरले जनतासंग क्षमा माग्नुपर्छ ।’

असार १५ गते बेलुकासम्म पनि रकम निकासाको पत्र लेखेर पठाएको भए स्थानीय तहमा फ्रिज नहुनेगरी कोभिड– १९ को व्यवस्थापनका लागि खोलिएको खातामा सो रकम जम्मा गरिदिने जानकारी कोलेनिका प्रमुखले गराएको पनि पुर्वमन्त्री राईले बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा असार ७ गते पठाइएको पत्रमा स्थानीय तहले आफ्नो क्षेत्रमा खर्च नभई बचत भएको रकम यकिन गरेर निर्देशक समितिको संयोजक र जिल्ला समन्वय समितिलाई जानकारी गराउन आह्वान गरेको थियो ।

नेपालगन्ज उपमहानगरले सो आह्वानलार्ई समेत बेवास्ता गरेर कुनै जानकारी नगराएको तथा आफुले काठमाण्डौैबाट आएर त्यस्तो खर्च नभएको रकमको खोजी गरेर समयमै निर्णय गरि पठाएपनि वास्ता नगरि फ्रिज गराएको राईको दावी छ ।

खर्च नभएको सो रकम भेन्टिलेटरका लागि दिने निर्णय गर्नु अगावै आफुले नेपालगन्ज उपमहानगरका प्रवक्ता प्रमोद रिजाल र भेरी अस्पताल विकास समितीका अध्यक्ष प्रमोद धितालसंग सुझाव माग्दा भेन्टिलेटर आवश्यक भएको सुझाव आएपछि सोही अनुरुप योजना शंसोधन गरिएको सांसद राईले पत्रकार सम्मेलनमा बताएका छन् ।

भेरी अस्पताललाई कोभिड विशेष अस्पताल बनाउन स्थानीय प्रशासनले चन्दा माग गरिरहेका बेला भेन्टिलेटर खरिद गर्न दिइएको डेढ करोड रकम फ्रिज भएपछि यतिबेला पूर्वमन्त्री राई र मेयर राणाबीचको जुहारी चलेकोछ ।

नेपालगन्ज उपमहानगरपालिकामा आएको करोडौं बजेट काम गर्न नसक्दा फिर्ता भएको विषयलाई लिएर पूर्व मन्त्री राई र मेयर राणाबीच यतिबेला जुहारी चलिरहेकोछ ।

त्यसो त राई मन्त्री हुनेवित्तिकै मेयर राणासंग शीत युद्ध शुरु भएको थियो । दुवैजनाको राजनीति गर्ने थलो एउटै भएकाले कसले जनतालाई प्रभाव पार्ने विषयमा एकले अर्कोलाई पछार्ने काम त्यतीखेरदेखि नै शुरु भएको थियो ।

चाहे बागेश्वरी मन्दिरको कम्प्लेक्सको विवाद होस, चाहे ग्रीन सिटीको विवाद होस पूर्व मन्त्री राईले नेपालगन्जका जनतामाझ मैले गरेको भन्न देखाउन चाहान्छन् भने मेयर राणा पनि त्यही कुरो देखाउन चाहान्छन् । जसका कारणले नेपालगन्ज भित्र हुने हरेक विकास निर्माणका काममा एकले अर्कालाई दोषारोपण गर्ने काम चल्दै आएकोछ ।

यसअघि कोरोना भाइरस संक्रमणकाबीच नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१५ मा हाईमास्ट जडानको शिलन्यास गर्न पुगेका पूर्वमन्त्री राईले पूर्वाधार विकास कार्यक्रमको खर्च हुन नसकेको डेढ करोड रकम नेपालगन्ज उपमहानगरपालिकाका कारण फ्रिज भएको आरोप लगाएका थिए ।

उनले कोभिडका लागि छुट्याइएको उक्त रकमबाट भेन्टिलेटर खरिद गर्नेगरी आफुले स्थानीय सरकारलाई लिखितरुपमा अख्तियारी दिएको उल्लेख गर्दै रकम फ्रिज हुनु दुर्भाग्यपूर्ण भएको भन्दै विकासका रकममा भएको राजनीतिमा खोजतलास गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।

पूर्वमन्त्री त्यो पनि बाँकेबासी समेत रहेका राईले यस्तो आरोप लगाएपछि विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएको थियो । समाचार सम्प्रेषण भएसगैं यतिबेल मन्त्री र मेयरबीचको टकराब पुनः सतहमा आएको छ । मन्त्री राईले दिएको अभिब्यक्तिलाई खण्डन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणाले गत आईतबार एक विज्ञप्ती जारी गर्दै ‘निर्णयकर्ताले आर्थिक वर्षको अन्त्यमा योजना संशोधन गरेको पत्र पठाएका कारण प्रक्रिया नै शुरु गर्न सकिएन । कुनैपनि प्रकारको भ्रममा नपर्न नगरबासी समक्ष हार्दिक अपील गर्दछु ।’ बताएका थिए ।