अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्रको छानबिन हुने


अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्रको छानबिन हुने

नेपालगन्ज : मुस्लिम आयोगका अध्यक्षका लागि सिफारिसमा परेका समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्रमाथि छानबिन हुने भएकोछ । अन्सारीबिरुद्ध संसदीय सुनुवाई समितिको आज मङ्गलबार बसेको बैठकले अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र र पार्टी सदस्यताबारे छानबिन गर्ने निर्णय गरेको हो ।
समिमविरुद्ध समितिमा चारवटा उजुरी परेपछि यस विषयमाथि संसदीय सुनुवाई समितिले आफ्नो ध्यान केन्द्रित गरेको छ । संवैधानिक परिषद्ले मुस्लिम आयोगका अध्यक्षमा सिफारिस गरेका थिए । समितिले मंगलबार उजुरीकर्तालाई छलफलका लागि बोलाएको थियो । आजको बैठकमा एक जनामात्र उजुरीकर्ता उपस्थित थिए । उजुरीकर्ताको कुरा सुनेपछि सांसदहरू अमृता थापा मगर र पूर्णकुमारी सुवेदी र राजेन्द्र श्रेष्ठले अन्सारीका कागजात छानबिन गर्नुपर्ने माग गरेका थिए ।

समिति सदस्य योगेश भट्टराईले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अन्सारीको नागरिकता, निर्वाचन आयोगबाट उनी नेकपाको सदस्य रहेर नरहेको कागजात र संवैधानिक परिषद्बाट उनका शैक्षिक प्रमाणपत्र झिकाउन प्रस्ताव गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली का“ग्रेसले बहिष्कार गरेको उक्त बैठकले सांसद भट्टराईको प्रस्तावअनुसार अन्सारीका प्रमाणपत्र झिकाउने निर्णय गरेको हो । काठमाडौं महानगरपालिका–९ का स्थायी बासिन्दा अन्सारी पहिला मधेश केन्द्रीत दल राजपामा नेता थिए ।

Kanti Aarogya Hospital Nepalgunj

गत वर्षको स्थानीय चुनावअघि उनी तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थिए । पछि उनी नेकपाका केन्द्रीय सदस्य बने । कुनै दलको सदस्यता भएको व्यक्तिलाई संवैधानिक आयोगको अध्यक्ष सिफारिश गर्न नमिल्ने संवैधानिक व्यवस्था छ । नेताको फेरो समातेर माथि जान खोजेको भन्दै नेकपाका कतिपय सांसदहरू अन्सारीलाई रोक्ने पक्षमा छन् । यसअघि समितिले अन्सारीको सुनुवाइ बुधबार गर्ने बताएको थियो । उनका कागजात छानबिन हुने भएपछि सुनुवाइ अनिश्चित बनेको छ ।