बाली जोगाउन रातभर जाग्राम


बाली जोगाउन रातभर जाग्राम

दुल्लु : दैलेखका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थालेपछि बाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन् । यहाँका किसानले लगाएको बाली जङ्गली बँदेलले सखाप पार्दा रातभर जाग्राम बस्न थालेका हुन् । घर भित्र्याउन तयारी अवस्थामा रहेको अन्नबाली ठूलो सङ्ख्यामा आउने जङ्गली बँदेलले नोक्सान गर्न थालेपछि किसान खेतबारीमा रात बिताउन बाध्य भएका हुन् ।

धान, मकै, कोदोलगायत खाद्यान्न बालीमा बथानका–बथान आएर जङ्गली बँदेलले खाने गरेका स्थानीयले बताएका छन् । भैरवी–१ का स्थानीयवासी डिलबहादुर कार्कीले बँदेलले बाली नोक्सान गरी सखाप पारेको बताए । उनले भने,‘बँदेल धपाउन समूह बनाएर रातभर खेत बारीमा बास बस्छौँ तर, पनि खेती जोगाउन हम्मे हम्मे भएको छ ।’ भैरवी, महाँबु गाउँपालिका, दुल्लू, नारायण र आठबिस नगरपालिकालगायत स्थानमा जङ्गली बँदेलले अन्नबाली नोक्सान गरेको स्थानीयले बताएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो समयमा यहाँका किसानले रातभर जाग्राम बसेर जङ्गली बँदेल धपाउन बाहेक बाली जोगाउनै अन्य विकल्प छैन । पाकेर घरमा भित्र्याउन तयारी अवस्थामा रहेको अन्नबालीमा बँदेलले क्षति पुर्याउँदा किसान निकै निरास भएका छन् । दुल्लु नगरपालिका–३ का प्रेम गिरी भन्नुहुन्छ – न त रातिमा सुत्नु छ न त बाली नै जोगिएको छ, अब त अतिनै गर्न लागिसके । एकातीर बँदेलले आक्रमण गर्छ की भन्ने चिन्ता लाग्ने गरेको छ ।
किसानको क्षतिको सम्बन्धित निकायले कुनै व्यवस्थापन नगरेको किसानको गुनासो छ ।

‘नत जङ्गली बँदेलको नियन्त्रण तिर चासो छ न त क्षतिको व्यवस्थापनमा स्थानीय सरकारले देखाएका छन्’, भैरवी गाउँपालिका–१ का सेरबहादुर कार्कीले गुनासो गरे । जङ्गली बँदेलले नोक्सान गरेको निवेदन थुप्रै आएका भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए । उनले नोक्सानी भएको बालीको विवरण सङ्कलन गर्न वडा तहमा जनप्रतिनिधिलाई किसानको बारीमै खटाउने र उचित क्षतिपूर्ति दिनेबारे आफू छिट्टै कार्यपालिकाको बैठक बस्ने बताए । सरकारी निकायबाट किसानलाई राहतका कार्यक्रम ल्याएको भएपनि प्रभावकारी हुन सकेको छैन । डिभिजन वन कार्यालय दैलेखका प्रमुख मुनबहादुर रावतले प्रकृया मिलाएर निवेदन आए क्षतिपूर्ति दिने जानकारी दिए । -रासस