‘बुद्ध सर्किट’मा नेपाल-भारत व्यावसायिक समझदारी


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
‘बुद्ध सर्किट’मा नेपाल-भारत व्यावसायिक समझदारी

नेपालगन्ज। लामो प्रयासपछि लुम्बिनीलाई भारतका उत्तरपूर्वी राज्यहरूसँग जोड्नेगरी ‘बुद्ध सर्किट’ निर्माण गर्नका लागि दुई देशका नीजि क्षेत्रहरू सहमत भएका छन्। यसका लागि उनिहरूले आआफ्नो देशका सरकारमा समेत त्यसको पहल गर्नेछन्। अहिलेका लागि यो पहलमा स्थानीय सरकारहरू पनि अघि सरेका छन्। 

विश्वशान्तिको उद्गमस्थल मानिने लुम्बिनीलाई बाँकी विश्वसँग पनि सिधा जोडनका लागि ‘बृहत्तर बौद्ध तथा सांस्कृतिक’ सर्किट निर्माणमा भएको यो अन्तरदेशीय प्रयासले नेपालको धार्मिक तथा आध्यात्मिक पर्यटनमा थप इँटा थपिएको भन्दै व्यवसायीहरू उत्साहित भएका छन्। 

केही दिनअघि लुम्बिनी होटेल संघ नेपाल र उत्तरपूर्व भारतीय पर्यटन महासङ्घ (नर्थ इस्ट इन्डिया टुरिज्म फेडेरेसन) बीच लुम्बिनीमा यस्तो सम्झौता भएको हो। यो सम्झौताले लुम्बिनी क्षेत्र तथा भारतका आठ राज्यहरू आसाम, मेघालय, अरुणाचल, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा र सिक्किमसँग जोडिएर सिधा पर्यटन सञ्जाल विस्तार गर्न मार्ग प्रशस्त भएको छ। 

लुम्बिनीलाई एक गन्तव्यका रुपमा मात्र नभई सम्पूर्ण क्षेत्रीय यात्रा मार्गको ‘केन्द्रीय ट्रान्जिट’का रुपमा विकास गर्न दुबै पक्षले आआफ्नो भूमिका खेल्नेछन्। भारतका उत्तरपूर्वी राज्यमा ठूलो सङ्ख्यामा रहेका बौद्ध धर्मावलम्बी तथा तीर्थयात्रीलाई लुम्बिनी ल्याउने र लुम्बिनी आएका पर्यटकलाई बुद्ध जीवनसँग जोडिएका रामग्राम, तिलौराकोट, देवदह ऐतिहासिक र पौराणिक स्थलसम्म पुर्‍याएर बसाइ अवधि लम्ब्याउने रणनीतिमा काम गर्ने सहमति भएको छ। 

‘निजी क्षेत्रको यो अन्तरदेशीय समझदारीले लुम्बिनी क्षेत्रमा पर्यटकहरूको आवागमनमात्रै नभएर बसाईसमेत लम्बिने आशा हामीले गरेका छौं। पहिलोपटक दुई देशका व्यासायिक संगठनहरूले यस्तो पहल गरेका छन्। यसमा सरकारले पनि अपनत्व लिएमा यो थप मजवुत हुनेछ’ लुम्बिनी होटेल संघका अध्यक्ष लीलामणि शर्माले भने।