फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’


सेतोखरी सेतोखरी   ५२ मिनेट अगाडि
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’

नेपालगन्ज। बितेको एकसातामा मात्रै प्रहरीले कम्तीमा २० जनालाई लागु औषधसहित पक्राउ गरेको छ। यो सबै नेपालगन्ज क्षेत्रबाटै हो। उनिहरूको साथबाट प्रहरीले विभिन्न प्रकारका लागु औषध, मोबाइलहरू र पैसासमेत बरामद गरेको छ। 

हरेक दिनमा प्रहरीले एक वा दुईभन्दा धेरैलाई लागुऔषधसहित पक्राउ गरिरहेको छ। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय नेपालगन्जले अहिले आफ्नो कार्यक्षेत्रमा लागुऔषधविरुद्ध सचेतनासँगसँगै ‘अपरेसन’ समेत चलाइरहेको छ। 

केही दिनअघि प्रहरीले एउटा होटेलमा कारोबार गरिरहेका तीनजना भारतीय युवालाई ८८० ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लियो। उनिहरूलाई प्रहरीले एक महिनादेखि पछ्याइरहेको थियो। त्यसअघि पनि एकैपटक छ जना युवा नेपालगन्जबाटै समातिएका थिए।

नेपालगन्ज क्षेत्रमा सबैभन्दा बढी कारोबार हुने भनेको खैरो हेरोइन हो। जो भारततिरबाट नेपाल भित्रिन्छ। त्यसको नियन्त्रणमा सबैभन्दा ठूलो चुनौती भनेको ‘खुला सिमाना’ हो। जहाँ प्रहरीसँगै सबै सुरक्षा नियकाको निगरानी त हुन्छ तर लागुऔषधका कारोबारीहरू कुन रुपमा नाका वारपार गर्छन् भन्ने प्रहरीलाई एकीन नै हुँदैन। खुला सिमाना र वारिपारि नै बजार भएका कारण दुबै देशका नागरिक सजिलै आउजाउ गर्नसक्छन्, खुला सिमानामा हुने यो एउटा दुई देशीय अलिखित ‘समझदारी’ पनि हो। 

यस्तोमा प्रहरीले कारोबारी समाउन लगाउने एउटामात्रै ‘ट्रीक’ भनेको ‘खबरी’हरूलाई फैलाउने हो। अथवा शंका लागेकालाई आफैले खानतलासी लिने हो। तर दिनमै हजारौं मानिस आउ जाउ गर्ने यी नाकाहरूमा उनिहरू कुन रुपमा आउँछन् र जान्छन् भनेर प्रहरीका गोप्य ‘सूचक’हरू नै अलमलमा पर्छन्।  

र, यसकै फाइदा अहिले लागुऔषध तथा अन्य अवैध धन्दाका लागि दुबै देशका कारोबारीहरूले उठाइरहेका छन्। 
त्यसमा पनि अहिले लागुऔषधको ओसार पसारका कारोबारीहरूले त्यसलाई वारपार गराउनका लागि अनेक तरिका बदलेका छन्। 

तरकारीदेखि फलफलसम्म अनि भित्री वस्त्रदेखि साइकलका टायरसम्ममा लुकाएर लागु औषधको कारोबार हुन्छ। आउ जाउ गर्नेहरूलाई सिमा सुरक्षाकर्मीहरूले एक एक गरी विशेष ख्याल गर्न सक्दैनन्। त्यसैले थोरै थोरै ९मिलिग्राम०का लागुऔषध शरीरका कुनै न कुनै भागमा घुसारेर लागु औषधका खुद्रे कारोबारीहरूले सिमा नाकाबाटै कैयौं खेप गर्नसक्छन्। 

‘साइकलका टायरभित्र, मोटरसाइकलका ह्यान्डलमा अनि चामल र खाद्यान्नभित्र घुसारेर लागुऔषध ओसार पसार गरिन्छ। तरकारी,फलफूलभित्र पनि त्यसलाई चिचेर भित्र हालिएको हुनेरहेछ’ लागु औषध नियन्त्रण ब्यूरो नेपालगन्जका प्रमुख सहायक प्रहरी निरीक्षक नवीनकुमार शाही भन्छन् ‘यहाँसम्मकि माछा ल्याउने लैजानेहरूले समेत माछालाई चिरेर त्यसभित्र लागुऔषध घुसार्ने गरेका छन्।’ 

यो धन्दा सीमाको बजार नेपालगन्जसम्म मात्रै सिमित छैन। बरु भारतका रुपैडिहा तथा नानपारा र बहराइचसम्मका जिल्लाहरूमा समेत नेपालतिरका खुद्रे कारोबारी र प्रयोगकर्ताले नेटवर्क फिंजाईसकेका छन्। यसमा एउटा बाधा भनेको ‘क्रश बोर्डर इस्यु’ हो। तर त्यसमा पनि सुरक्षा निकायले स्थानीयरुपमै समन्वय गरेर ‘द्वीपक्षीय’ सुरक्षा समझदारी बढाएका छन्। 

त्यो बाहेक नेपालगन्जलाई ट्रान्जिट बनाएर पश्चिमका जिल्लाहरू अनि बुटवल, पोखरा र काठमाडौंलगायतका सहरहरू पनि यही ‘सप्लाइ चेन’मा गाँसिएका छन्। 

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार गत साउन १ देखि असोज १५ गतेको बीचमा २७३ जना नेपाली र ११ जना भारतीय नागरिक लागुऔषधसहित पक्राउ परेका छन्। यसबीचमा लागुऔषध विरुद्ध १६९ मुद्दा दर्ता भएका छन्। 
त्यस्तै विभिन्न प्रकारका लागुऔषधमध्ये लुम्बिनीका जिल्लाहरूबाट सबैभन्दा धेरै ब्रउन सुगरसहित मानिसहरू पक्राउ हुने गरेका छन्। प्रदेश प्रहरीको यो तथ्याङक्अनुसार यो अवधिमा मात्रै लगभग १८२९.३७ ग्राम ब्राउन सुगर बरामद भएको छ। भारतबाट नेपाल भित्रिने सबैभन्दा धेरै लागुऔषधमध्य ब्राउन सुगर एक हो। 

अघिल्लो आर्थिक वर्षमा लुम्बिनीका यी जिल्लाहरूमा १३ सय २३ जना नेपाली र ६२ जना भारतीय नागरिक लागुऔषधसहित पक्राउ परेका थिए।