संसदीय सुनुवाइबाट अस्वीकृत गर्ने तयारी
नेपालगन्ज : मुस्लिम आयोगको प्रस्तावित अध्यक्ष समिम अन्सारीले पेश गरेको नागरिकतासम्बन्धी कागजात नक्कली भएको पुष्टि भएको छ । अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी संसदीय सुनुवाई समितिमा परेको थियो ।
मुस्लिम आयोगका प्रस्तावित अध्यक्षको नागरिकता ‘फर्जी’ भएको पाइएपछि समीम मियाँ अन्सारीलाई मुस्लिम आयोग अध्यक्षमा अस्वीकृत गर्ने नेकपाका सांसदहरूले तयारी गरेका छन् ।
प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्ले अन्सारीलाई राष्ट्रिय मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरेको थियो । तर, फर्जी नागरिकता, नक्कली शैक्षिक प्रमाणपत्रदेखि बैंकिङ कसुरसम्मका उजुरीका चाङ संसदीय सुनुवाइ समितिमा लागेपछि सत्तारूढ दलका सांसदहरू नै उनलाई अस्वीकृत गर्ने तयारीमा जुटेका हुन् । समितिले अध्ययन गर्दा उनको नागरिकता विवादित देखिन्छ । प्रवेशिका र प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्र पनि नक्कली रहेको उजुरी समितिमा परेको छ ।
नागरिकतामा एउटा , ढड्डामा अर्कै
समितिले गरेको छानबिन अनुसार उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०५५ सालमा नागरिकताको प्रतिलिपि बुझेका छन् । नागरिकतामा उल्लेखित जन्ममिति पनि सरकारी ढड्डामा उल्लेख भएभन्दा फरक छ । नागरिकतामा उनको जन्ममिति २०३० असोज २४ गते उल्लेख छ । तर, सरकारी ढड्डामा भने ७ वर्षपछि अर्थात् २०३७ असोज २४ गते उल्लेख छ ।
त्यस्तै उनको जन्मस्थान पनि फरकफरक भएको सरकारी तथ्याङ्क बताउँछ । नागरिकता प्रमाणपत्रमा जन्मस्थान काठमाडौं–९ उल्लेख छ । सरकारी ढड्डामा भने काठमाडौं–१९ उल्लेख छ । रोचक कुरा त, सरकारी ढड्डामा नागरिकता जारी गर्ने अधिकारीको दस्तखत छ तर नाम उल्लेख छैन । कसले नागरिकता जारी गरेको हो, कतै खुलाइएको छैन । नागरिकताको प्रतिलिपिमा पनि दस्तखत छ, जारी गर्ने अधिकारीको नाम छैन ।
संसदीय समितिमा परेको उजुरीका आधारमा गरिएको छानबिनबाट सो कुरा बाहिर आएको हो । यसअघि अन्सारीको जन्म भारतमा भएको र उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको दाबी गरिएको थियो । संसदीय सुनुवाइ समितिको छानबिनमा अन्सारीको नागरिकता विवादित भएको पुष्टि भएको ।
शैक्षिक प्रमाणपत्र पनि फर्जी
उजुरीकर्ताको दाबीमाथि अध्ययन गर्दा शैक्षिक प्रमाणपत्र पनि विवादित नै देखिन आएको पाइएकोछ ।
घण्टाघरको मदरसामा कक्षा ९ सम्ममात्रै पढेका अन्सारीले भारत, बोधगयाको मगध विश्वविद्यालयबाट प्रवेशिका र प्रवीणता प्रमाणपत्र उत्तीर्ण गरेको सर्टिफिकेट बुझाएका छन् । स्नातक तह उत्तीर्ण गरेको भनिएका अन्सारीको नेपालको विश्वविद्यालयको इक्विभ्यालेन्ट (समकक्ष) पनि स्वभाविक नदेखिएको पाइएको हो ।
बैकिङ कसुर पनि
अन्सारीमाथि बैंकिङ कसुरसम्बन्धि जाहेरी पनि प्रहरीमा भएको पाइएकोछ । निज अन्सारीमाथि प्रहरी कार्यालयमा चेक बाउन्ससमेतको मुद्दा दर्ता भएको संसदीय समितिको छानविन समितिले बैंकिङ कसुरको अभियोगमा पक्राउ गरी मुद्दा दर्ता गराउने प्रहरीले तयारी गरेको सम्म जानकारी पाएकोछ ।
दलको सदस्य आयोगको अध्यक्ष बन्न स्वतः अयोग्य
नेपालको संविधान २०७२ को धारा २६४ मुस्लिम आयोगको व्यवस्था गरिएको छ । मुस्लिम आयोगको अध्यक्ष तथा सदस्यको पदावधि ६ वर्षको हुने व्यवस्था छ । कानूनतः कुनै राजनीतिक दलको सदस्य संवैधानिक आयोगको प्रमुख बन्न नपाउने ब्यवस्था छ । तर, अन्सारी सत्तारूढ दल नेकपाका केन्द्रीय सदस्य भएको र उनको नाम पार्टीले निर्वाचन आयोगमा बुझाएको केन्द्रीय सदस्यहरूको सूचीको ३७४ औँ नम्बरमा रहेकाले उनको उम्मेदवारी स्वतः अस्वीकृत गर्नुपर्ने तर्क उजुरीकर्ताको छ ।
को हुन् अन्सारी ?
महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य रहेका अन्सारी ६ पार्टी एक भएर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)को सहमहामन्त्री थिए । राजपामै छँदा राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनका अध्यक्ष पनि थिए । र, सरकारविरुद्ध आन्दोलित बनेका थिए ।
पछि स्थानीय निकाय निर्वाचनताका २०७४ जेठ १३ गते काठमाडौंको कार्की ब्याङ्केटमा भएको कार्यक्रममा एमाले प्रदेश गरेका थिए— दुई हजार जनाको संख्यामा, दलबलसहित ।
अन्सारीले एमाले प्रवेशका बेला कार्यकर्ता पङ्ति देखाउन म्यानमारबाट निकालाबास भएका रोहिङ्गा शरणार्थीसमेत उतारेर हल भरेको भन्दै उतिबेलै आलोचित बनेका थिए ।
पार्टी प्रवेशलगत्तै पार्टी अध्यक्ष केपी ओली निकट बन्न पुगेका अन्सारीलाई केन्द्रीय सदस्य बनाउने तयारी भएको तत्कालिन एमालेका नेताहरू बताउँछन् । तर, नेता माधव नेपाल समूहले असन्तुष्टि जनाएपछि उनी राष्ट्रिय सल्लाहकार परिषद् सदस्य बनाइएका थिए ।
कुस्ति संघका केन्द्रीय उपाध्यक्ष रहिसकेका अन्सारी जीवनराम श्रेष्ठ रहेको नेपाल ओलम्पिक कमिटीका सदस्यसमेत छन् । त्यस्तै उनी हरिबाबु चौधरी सदस्य सचिव हुँदा राष्ट्रिय खेलकुद परिषद्को सदस्यसमेत मनोनीत भएका थिए । राखेपमा हुँदा पैसा लिएर खेलाडी विदेश लैजाने र भगाउने समेत गरेको उजुरी उनीमाथि छ । यद्यपि त्यसबारेमा पनि छानबिन भइरहेको समितिका सदस्यको भनाइ छ ।
अब के गर्छ नेकपाले ?
त्यसो त संवैधानिक परिषद्ले अन्सारीलाई मुस्लिम आयोगको प्रमुख सिफारिस गर्नेबित्तिकै समितिमा रहेका नेकपाका सांसदहरूले सुवास नेम्वाङ र पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई जानकारी गराएका थिए । उनको धमिलो छविका बारेमा प्रधानमन्त्री समेतलाई अवगत नभएको होइन ।
तर, अन्सारीको पृष्ठभूमि र उनीमाथि परेको उजुरीबारे संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक देव गुरूङलाई अवगत गराइएको र दुवै नेता अन्सारीलाई स्वीकृत गर्नु नहुने अडानमा रहेको समितिमा रहेका नेकपाका सांसदहरू बताउँछन् ।
यतिबेला नेकपा सांसदहरू एक ठाउँमा उभिएकाले अन्सारी स्वीकृत हुने सम्भावना समाप्त भएको नेकपाका सांसदहरूको भनाइ छ । समितिमा प्रधानमन्त्री केपी ओली निकट सांसदहरूसमेत नै अन्सारीको विपक्षमा रहेकाले अस्वीकृत हुने मत बलियो रहेको छ ।