खैरेनीमा सुरु भयो पैचोको कारोबार


खैरेनीमा सुरु भयो पैचोको कारोबार

नेपालगन्ज : किसानहरुको उत्पादनलाई बजारीकरण गर्ने र किसानहरुलाई सर्वसुलभ रुपमा दैनिक आवश्यक सामाग्री उपलब्ध गराउने उद्देश्यका साथ गुल्मीको खैरेनीमा पैचोको नयाँ शाखा विस्तारसगैं सञ्चालनमा आएकोछ ।

खैरेनीमा शाखा खुलेसँगै लामो समयदेखि सत्यवतीका किसानहरुले उत्पादन गरेका कृषि उपजहरु लामो दूरी पार गर्दै गुल्मीकै बलेटक्सार पुर्याउनुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय किसानहरुले बताएका छन् ।

कृषिलाई मुख्य आधार मानेर सञ्चालमा रहेको पैचो पसलले गुल्मीको सत्यवती–६ खैरेनीमा सोमबार आफ्नो नयाँ शाखा विस्तार गरेको हो ।
यसअघि सत्यवती गाँउपालिकाअन्तर्गत ठूलो लुम्पेक, अस्लेवा, लिम्घा, हसरा, जोहाङ्ग, जुनिया र भार्सेका किसानहरुले लामो दूरी पार गर्दै पैचो पसलको बलेटक्सार शाखासम्म कृषि उत्पादन पुर्याउँदै आएका थिए ।

स्थानीय किसानहरुको मागलाई सम्बोधन गर्दै सत्यवतीमा शाखा विस्तार गरिएको पैचो पसलका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार पैचोले खैरेनीको शाखाबाट किसानहरुको सबै कृषि उपजहरु खरिद गर्नुका साथै किसान तथा स्थानीय उपभोक्तालाई आवश्यक सामाग्री बिक्रि समेत गर्नेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

पैचोको नयाँ शाखाको सत्यवती गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकालले औपचारिक रुपमा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उपयुक्त बजार नपाएर समस्यामा परेका सत्यवतीका किसानहरुलाई पैचोको उपस्थितीले सहज बनाएको बताए ।

ढकालले किसान र उपभोक्तालाई सुलभ र उपयुक्त मुल्यमा सामान उपलब्ध गराउन तथा किसानहरुको उत्पादनलाई राम्रो मुल्य दिन पैचोलाई सुझाव दिए ।

कार्यक्रममा बोल्दै पैचोका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले कृषिलाई मुख्य आधार बनाएर खुलेको पैचोले नेपालमा नयाँ आयाम थपेको प्रष्ट्याए । प्रबन्ध निर्देशक न्यौपानेले पैचो व्यवसाय मात्र नभएर कृषकको जीवनस्तर उकास्ने एउटा मोडेल बन्न सफल भएको बताए ।
न्यौपानेले पैचोले स्थानीय तहसँग सहकार्य गर्दै गुल्मी लगायत नेपालका पहाडी भेगका कृषकहरुलाई सम्पन्न बनाउने अभियानमा लागेको स्पष्ट पारे ।

स्थानीय अगुवा कृषक अर्जुन कनौजेले पैचोले गुल्मीका धेरै किसानहरुको जीवनस्तर माथि उठाएको बताए । कनौजेले कृषि उपज बजार सम्म पुर्याउँदा लाग्ने खर्चको तुलनामा पैचोले दिएको मुल्य उच्च भएको बताउँदै खेर गईरहेको कृषि उपजलाई सहज बजारको पहुँच दिने पैचोलाई सबैले सघाउनुपर्ने बताए ।

कार्यक्रममा गाँउपालिका उपाध्यक्ष सुवर्ण शेरचन शाही, बलेटक्सार उद्योग वाणिज्य संघका अध्यक्ष तोयनारायण ज्ञवाली लगायतले पैचोको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कोरोना भाइरस संक्रमणकाबीच सामाजिक भौतिक दूरी कायम गर्दै सञ्चालन भएको पैचो पसल उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, व्यवसायिक अगुवा, सुरक्षा निकायमा स्थानीय प्रमुख तथा पैचोमा आवद्ध स्थानीय लगानीकर्ता र सञ्चालकहरुको उपस्थिति रहेको थियो ।
पैचोले पहाडी कृषि उत्पादनको बजारीकण विस्तार गर्न भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राम र बुटवलको होराईजन चोकमा तरकारी मार्ट समेत विस्तार गरिसकेको छ ।