नेपालगन्ज। बिहीबार बिहान करिब ८।२५ बजे डोल्पाको जुफाल बिमानस्थलमा अवतरण भयो। धावनमार्गमै जहाज दौडिरहेका बेला आधा बाटोमै त्यसको एउटा पाङ्ग्रा उछिट्टिएर पर पुग्यो। छेउमै जहाज कुरिरहेका ग्राउन्ड स्टाफहरूले समेत एकछिन त कही भेग पाउनै सकेनन्।
पाङ्ग्रा खुस्किएपछि जहाज त्यही ठाउँमै रोकियो। तर जहाजलाई केही भएन। ठूलै दुर्घटनाबाट जोगियो।
बिमानस्थलमा अवतरणका क्रममा नाइन–एन-एजेएच कलसाइनको उक्त जहाजको पछाडि दायाँतर्फको पाङ्ग्रा खुस्किएको थियो।
सात जना विदेशीसहित १३ जना यात्रु लिएर नेपालगन्जबाट उडेको उक्त जहाज पाङ्ग्रा खुस्किए पनि दुर्घटनाबाट भने जोगियो।
सीता एयरले प्राविधिक त्रुटी भएको स्विकार गर्दै धावनमार्गमा रहेको उक्त जहाज प्राविधिकहरूले जाँच गरिरहेको जनाएको छ।
दुर्घटनापछि सिता एयर प्रालिले एक विज्ञप्ति जारी गरेर प्राविधिकहरूले अध्ययन र अनुसन्धान गरेर विवरणहरू सार्वजनिक गरिने बताएको छ।
‘सीता एयरको नाइन एन-एजेएज बिमान विमान डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान ८स्२५ बजे एक दुर्घटनामा परेको छ। जहाजमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरू सुरक्षित हुनुहुन्छ र कसैलाई पनि चोटपटक लागेको छैन’ प्रालिले भनेको छ ‘घटनाको विस्तृत छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सीता एयरले सम्बद्ध निकाय तथा प्राविधिक विज्ञहरूसँग समन्वय गरिरहेको छ। अनुसन्धानबाट तथ्यहरू पुष्टि भएपछि थप विवरणहरू उपलब्ध गराइनेछ। सीता एयर लि। आफ्ना यात्रु, चालक दल र सबै सरोकारवालाहरूको सुरक्षा तथा हितप्रति सधैँ प्रतिबद्ध छ।’
प्रालिकाे प्रारम्भिक अध्ययनअनुसार धावनमार्गकाे अन्तिमतिर पुग्दा त्यसकाे पाङ्ग्रा खुस्किएकाे देखिन्छ। करिब ५६० मिटर लामाे याे धावनमार्गमा अवतरण गरिसकेकाे थियाे जबकि जहाजकाे गति थामिएकाे थिएन तर निकै कम भइसकेकाे थियाे। पार्किङ गर्नेक्रममा उक्त दुर्घटना भएकाे देखिन्छ। त्यसैले पनि थप क्षति हुनबाट बचेकाे प्रालिकाे बुझाइ छ। तीव्र गतिमा क्रममा यस्ताे भएमा आगलागी हुने डर हुन्छ।
सीता एयरले चलाउँदै आएको यो डोर्नियर जहाजको पाङ्ग्रा फुस्किएको यो पहिलो घटना भने होइन। यसअघि पनि पटक पटक यस्तो भइसकेको छ।
तथ्याङ्कअनुसार सन् २००९ को सेप्टेम्बर ९ मा पनि यस्तै घटना भएको थियो। उक्त घटना नेपालगन्ज विमानस्थलको हो। त्यो बेला परीक्षण उडानका क्रममा विमानको एउटा पाङ्ग्रा फुस्किएको थियो। त्यसपछि उक्त लगभग २०० मिटर परसम्म घिसारिएको थियो। त्यसलगत्तै विमानमा आगलागी भएको थियो। विमानमा रहेका चालक दलका तीनजना सदस्यलाई भने केही भएन।
त्यही दुर्घटनाका कारण त्यो बेला तत्कालीन प्रधानमन्त्री माधबकुमार नेपालको काठमाडौं फ्लाइटसमेत रोकिएपछि त्यो घटनाले थप चर्चा पाएको थियो।
त्यसको दुई वर्षपछि नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा फेरि जहाजको अगाडिको पाङ्ग्रा खुस्कियो। विमान अवतरण गर्ने क्रममा अगाडिको पाङ्ग्रा फुटेपछि विमानको नियन्त्रण बिग्रिएर धावनमार्गमा ढल्किएको थियो। उक्त घटनामा पनि कुनै मानवीय क्षति भएन। विमानमा रहेका १८ यात्रु चालक दलका ३ जना सदस्यहरू सकुशल थिए। त्यो बेला उक्त जहाजको अगाडिको भागमा केही क्षति भएको थियो।
आज दुर्घटना भएको डोल्पाको जुफाल बिमानस्थलजस्तै नेपालका पहाडी क्षेत्रमा रहेका यस्ता स्टोल विमानस्थलमा उडान गर्नका लागि सीता एयरका चारवटा बिमान छन्। नेपालका पहाडी जिल्लाहरू बाजुरा, सिमकोट, रारा, लुक्ला, जुम्लाजस्ता जिल्लाहरूमा यसले उडान भर्दै आएको छ।
यस्तै सीता एयरको एउटा जहाज २०७४ साल बैशाखमा सोलुखुम्बुको फाप्लुमा पनि दुर्घटनामा परेको थियो। लुक्लाका लागि उडेको उक्त जहाज त्यहाँको मौसम खराब भएपछि फाप्लुमा आकष्मिक अवतरण गर्ने क्रममा जहाजको पखेटा विमानस्थलको भित्तामा ठोक्किएको थियो। यस घटनामा पनि कुनै मानवीय क्षति भएको थिएन। त्यसअघि २०७० सालमा सिमीकोटमा अवतरण गर्ने क्रममा पनि अगाडीको चक्कामा समस्या आउँदा धावनमार्गमा घिसारिएको थियो। त्यहाँ पनि कुनै मानवीय क्षति भएन।
२०७८ सालको कात्तिकमा नेपालगन्ज बिमानस्थलमै उक्त जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको थियो। तर त्यसमा रहेका १४ जना यात्रु भने सकुशल रहे। त्यो जहाज नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको थियो।
सीता एयरको एउटा जहाज दुर्घटना भने निकै घातक भयो। २०६९ साल असोज १२ गते काठमाडौंबाट लुक्लाका लागि उडेको सीता एयरको जहाज ९९एन(एएचए० उड्ने बित्तिकै काठमाडौंको मनोहरा खोला किनारमा दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा चालक दलका ३ सदस्यसहित १९ जनाकै मृत्यु भएको थियो।
सीता एयरसँग भएका चारवटा ९एन(एजेजी जहाज डोर्नियर २२८ सिरिजका हुन्। यो ट्वीन(इन्जिन युक्त बिमान हो। जसलाई पहाडी स्टोल बिमानस्थलहरूमा उडान भर्नका लागि जर्मनी जहाज कम्पनी डोर्नियरले डिजाइन गरेको हो। यस्ता बिमानस्थलका लागि चाहिने दुईवटा शक्तिशाली टर्बोप्रप इन्जिन भएको यो बिमानले जसले दुर्गम र उच्च पहाडी विमानस्थलहरूमा छोटो दूरीमै टेक(अफ र ल्यान्डिङ गर्नसक्छन्।
सीता एयरले सन् २००३ देखि नेपालका पहाडी जिल्लाहरूमा यिनै बिमानबाट उडान भर्दै आएको छ।
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा