भालुवाङलाई स्थायी राजधानी घोषणा गर्न खिचातानी भए बाँके कर्णालीमा जान बाध्य हुन्छ : बाँके काँग्रेस


भालुवाङलाई स्थायी राजधानी घोषणा गर्न खिचातानी भए बाँके कर्णालीमा जान बाध्य हुन्छ : बाँके काँग्रेस

नेपालगन्ज : दाङको भालुवाङलाई प्रदेश पाँचको स्थायी राजधानी बनाउन प्रदेश सभामा पेश गरेको प्रस्ताव सर्वसम्मत रुपले पारित गर्न नेपाली काँग्रेस बाँकेले माग गरेको छ ।

प्रदेश पाँचको स्थायी राजधानी दाङ दउखुरी (भालुवाङ्ग) क्षेत्रमा राख्ने प्रदेश पाँच सरकारको निर्णय विरुद्ध रुपन्देही काँग्रेस र उसको भातृ संगठन आन्दोलित भइरहेका बेला बाँके काँग्रेसले उक्त प्रस्ताव पारित गर्न माग गरेको हो ।

नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले आईतबार एक विज्ञप्ती जारी गर्दै प्रस्तावित नाम र स्थानलाई प्रदेश सभाबाट यथाशिघ्र पारित गरी कार्यान्वयनमा लैजान माग गरेकी छन् ।

सरकारले प्रदेश पाँचको अस्थायी राजधानी रुपन्देहीको बुटवललाई घोषणा गरेपछि बाँके र बर्दियाबासीले यसअघि असन्तुष्टी जनाउँदै आएका थिए । प्रदेश राजधानीका हिसाबले बुटवल पायक नपर्ने भन्दै बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने माग यहाँ जोडदार रुपले उठेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘अहिले यस क्षेत्रका जनताको व्यापक जनदवाबका कारण प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी भालुवाङमा राख्ने प्रस्तावको निर्णय भएको छ,’ विज्ञप्तीमा भनिएको छ ‘बाँके जिल्लाका जनताको भावनालाई नसमेटिएता पनि प्रस्तावित राजधानी भौगोलिक रुपले ५ नम्बर प्रदेशका सबै जिल्लाहरुको शुलभ पहुँच हुने भएकोले प्रदेशको नाम र स्थान उपयुक्त रहेको हुँदा नेपाली काँग्रेस बाँकेले यसलाई सकारात्मक रुपमा लिएको छ ।’

काँग्रेस बाँकेले पटक–पटक साबिक मध्यपश्चिम क्षेत्रको औद्योगिक स्थलको रुपमा परिचित नेपालगन्जलाई प्रदेश नम्बर ५ को राजधानी बनाउन सरकारका सम्बन्धित निकायहरुमा डेलिगेशनसहित माग राखी दवाव मुलक कार्यक्रमहरु सञ्चालन गरेपनि सुनुवाई नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रदेश राजधानीको विषयमा विभिन्न वहानामा जनताका भावनालाई खेलवाड गर्दै षडयन्त्र गरिएको काँग्रेस बाँकेको ठहर छ ।

प्रदेश पाँचको राजधानी बुटवलभन्दा भालुवाङ धेरै उपयुक्त रहेको सभापति कोइरालाको भनाई रहेको छ । ‘भौतिक संरचनाको हिसाबले नेपालगन्ज र बुटवलमा भएको जति भालुवाङमा त नहोला, तर सबै जिल्लाको केन्द्रको हिसाबले भालुवाङ सबैलाई पायक पर्ने देखिन्छ ।’ कुनै कारणले भालुवाङलाई स्थायी राजधानी घोषणा गर्न खिचातानी भएमा बाँके जिल्ला कर्णालीमा जान बाध्य हुने उनको चेतावनी छ । प्रदेश राजधानीका लागि नेपालगन्जमा एक संघर्ष समिति नै बनेको थियो ।

प्रदेश पाँच सरकारले अहिले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने निर्णयसँगै प्रदेश सभामा प्रस्ताव पेश गरेपछि बाँकेका राजनीतिक तथा नागरिक अगुवाले स्वागत गरिसकेका छन् ।