प्रदेश ५ को राजधानी देउखुरी, नाम लुम्बिनी पारित


प्रदेश ५ को राजधानी देउखुरी, नाम लुम्बिनी पारित

नेपालगन्ज : विरोध र आन्न्दोलनकाबीच प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङ्गको देउखुरीमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसीले मंगलबार प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी राखियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सभामुख पुर्णबहादुर घर्तीले मंगलबार प्रदेशसभामा सो प्रस्तावमा मत विभाजन गराइ दुई तिहाइबाट नाम र स्थायी राजधानी टुंगो लागेको घोषणा गरे ।

प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएसँगै प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख घर्तीले मंगलबार राति १२ बजेबाट प्रदेश सभाको चालु अधिवेशन अन्त्य हुने घोषणा गरे ।

मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको थियो भने विपक्षमा ४ मत खसेको छ । यस्तै स्थायी राजधानी देउखुरी राख्ने प्रस्तावको ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रदेशको स्थायी राजधानी देउखुरीमा राख्ने प्रस्तावको प्रमुख विपक्षी काँग्रेसले विरोध गरेको थियो भने सोमबार प्रदेशसभामा तोडफोड समेत गरेका थिए । काँग्रेसले राजधानीसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो । तर मंगलबार भएको मतदानमा काँग्रेसकै सांसदहरुले पार्टीको हृवीप विपरित फ्लोर क्रस गरेका छन् । किनकी प्रदेशसभामा काँग्रेसका १९ सांसद भएपनि विपक्षमा १३ मत मात्र खसेको छ ।

प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँभीको शीतगंगा नगरपालिकालाई जोडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो ।

प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ सांसद छन्, उनीहरुमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन् । यस्तै जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् ।