नेपालगन्ज : सरकारविरुद्ध सडकबाट प्रदर्शन गर्ने भनेको नेपाली काँग्रेसले आफ्नो आन्दोलनको खाका अघि सारेकोछ । कोरोना भाइरस संक्रमणकाबीच गत फागुनदेखि सार्वजनिक कार्यक्रम नगर्न मातहत निकायलाई निर्देशन दिएको काँग्रेसले सडकबाट प्रदर्शनको बाटो रोजेको छ ।
यही मंसिर १७ गते दमौलीमा पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न प्रशासन र नेकपाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई अबरोध गरेपछि काँग्रेसले सरकारका प्रबृत्तिविरूद्ध देशभर आन्दोलन गर्ने बताएको थियो ।
सोही कार्ययोजना अनुसार काँग्रेस यतिबेला देशरभ हुने सरकारको विरोधका कार्यक्रमलाई सशक्त ढंगबाट अघि बढाउदै लगेकोछ । यसबाहेक काँग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको बताएको छ । भ्रष्टाचार बढेको र कोरोना नियन्त्रण गर्न सरकार असफल रहेकोमा उसको विरोध छ ।
पछिल्लो समय राजावादीहरूले देशका विभिन्न सहरमा प्रदर्शन गरेपछि संघीय लोकतान्त्रिक गणतन्त्रमा नै खतरा हुन सक्ने भन्दै काँग्रेसले बेलैमा सचेत हुनुपर्ने बताउने गरेको छ । आगामी मंसिर २९ गते हुने देशैभरको प्रदर्शनमा केन्द्रीय कार्यालयबाटै प्रतिनिधि खटाइएको छ । शीर्ष नेताहरूले देशका मुख्य सहरका प्रदर्शनमा सम्बोधन गर्न लागेका छन् ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार उक्त दिनको प्रदर्शनका लागि केन्द्रबाटै दश वटा नारा तय गरि आफ्ना मातहतका निकायलाई परिपत्र समेत गरेकोछ ।
संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नारा लगाउन भनेको काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारलाई भने सर्वसत्तावादीको आरोप लगाएको छ ।
‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत नारा केन्द्रबाटै तय गरिएका छन् । यद्यपी केन्द्रले तोकेकाबाहेक अरू नारा प्रदर्शनमा लगाउन पाइने छैन ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी हुनेछन् ।
त्यसैगरी मुख्यसचिव पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरामा हुने कार्यक्रममा सहभागी हुनेछन् ।
जिल्ला सभापतिहरूले माग गरेअनुसार केन्द्रीय सदस्यहरू जिल्लाहरूमा हुने प्रदर्शनमा सहभागी हुने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जाने कार्यक्रम तय भएको छ ।