सरकारविरुद्ध काँग्रेसको आज देशभर प्रदर्शन


सरकारविरुद्ध काँग्रेसको आज देशभर प्रदर्शन

नेपालगन्ज : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस लामो समयपछि सडकमा निस्किँदै छ । महामारीका समयमा खरिद गरिएको स्वास्थ्यसामग्रीमा भ्रष्टाचार हुँदासमेत सामान्य विज्ञप्तिमा सीमित भएको काँग्रेसले अहिले भने त्यही भ्रष्टाचारको मुद्दा लिएर सडकमा ओर्लिन लागेको हो ।

मंसिर १७ गते रामचन्द्र पौडेललाई प्रहरीले दुर्व्यवहार गरेपछि आक्रोशित भएको काँग्रेसले अहिले भने प्रतिपक्ष शैलीमै सरकारका हरेक कमजोरीलाई ‘तारो बनाएर’ जनतामा पु¥याउने तयारी थालेको हो ।

आज देशभरका ७७ स्थानमा विरोध प्रदर्शनको तयारीमा रहेको काँग्रेसले भ्रातृ संगठनलाई गरेको आह्वानअनुसार आईतबार नेविसंघले सिठी जुलुस प्रदर्शन गरी विद्यार्थी र सर्वसाधारणलाई प्रदर्शनमा सहभागी हुन अपील गरेको थियो । आजको विरोध प्रदर्शनलाई सांकेतिकमात्र भनेको काँग्रेसले सकेसम्म बढी मानिसहरुको सहभागिताका लागि गृहकार्य भने गरिरहेको छ ।

सरकारको अधिनायकवादी र दमनकारी ब्यवहारबिरुद्ध आज केन्द्रिय कार्यक्रम अनुसार बाँके लगायत देशभर काँग्रेसले प्रर्दशन गर्दैछ । बाँकेमा पनि बृहत प्रर्दशनसहित वर्तमान सरकारको कार्यशैलीको भण्डाफोर गर्ने तयारी भएकाले यसक लागि पार्टि सम्बद्ध सबैलाई आग्रह गरिएको नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले
जानकारी दिइन ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार आज विहान ११ बजे नेपाली काँग्रेस बाँकेको कार्यालय सुर्खेतरोडबाट प्रर्दशन शुरु भएर नेपालगन्ज उपमहानगरको विभिन्न भागको परिक्रमा गरिने छ ।
उक्त प्रर्दशनमा सहभागीताका लागि जिल्लाका विभिन्न स्थानमा रहेका नेपाली काँग्रेसका कार्यकर्ता, सर्बसाधारण लगायत सबैलाई अपील गरिएको सभापति कोइरालाको भनाई छ ।

‘वर्तमान अधिनायकवादी सरकारले सर्बसाधारण नागरिकलाई अनेक दुःख दिइरहेको छ, यसका बिरुद्ध सबै नागरिक सडकमा उत्रिएर सरकारको भण्डाफोर गर्न जरुरी छ,’ उनले भनिन् ।

प्रर्दशनलाई लक्षित गरेर काँग्रेस बाँकेले जिल्ला कार्यसमिति, पदाधिकारी, तीन वटै क्षेत्रका कार्यसमिति, पदाधिकारी, भातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधी लगायतसँग निरन्तर छलफल गर्दै आएको जनाएको छ ।

यसैबीच, सभापति शेरबहादुर देउवाले आईतबार नै एक वक्तव्य जारी गरी सरकार भ्रष्टाचारमा कीर्तिमानी कायम गरिरहेको र अधिनायकवादको अभ्यासमा रहेको कुरा तथ्यले नै पुष्टि गरिसकेकाले त्यसविरुद्ध सडकमा आउन नेता कार्यकर्तामात्र नभएर सबै लोकतन्त्रप्रेमीलाई आह्वान गरेका छन् । तर, कोरोना जोखिम बढिरहेका बेलाको प्रदर्शनलाई आफ्नो बाध्यता भन्दै काँग्रेसले स्वास्थ्य सुरक्षामा भने विशेष ध्यान दिन आह्वान गरिरहेको छ ।

नेपाली काँग्रेसले सरकारविरुद्ध गर्ने प्रदर्शनलाई देशभरी चासोका साथ हेरिएको छ । कोरोना भाइरस संक्रमणकाबीच देशको दोस्रो ठूलो राजनीतिक दल सरकारका विरुद्ध सडकमा उत्रिएपछि यतिबेला नेपाली राजनीतिमा नयाँ बहस समेत चुलिएकोछ ।