नेपालगन्ज : विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएको तथ्य बाहिरिएकोछ ।
नेकपाभित्रको विवादकै कारण संवैधानिक परिषद् बैठक नै अबरुद्ध भएपछि प्रधानमन्त्री ओलीले मङ्गलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ ल्याएका थिए । सो अध्यादेश सरकारले सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले हतारमा जारी गरेकी थिइन् ।
अध्यादेश ल्याइएपछि सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री ओलीको चर्को आलोचना हुनुको साथै प्रतिपक्षी दल नेपाली काँग्रेस लगायत राजनितीक दल, कानूनविद् लगायतले चर्को विरोध गरेका थिए ।
पार्टीमा विवाद कायमै रहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार बिहान बोलाएको संवैधानिक परिषद्को बैठक सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित हुन पुगेको थियो भने २८ गतेपनि सभामुखसहित काँग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि स्थगित भएको थियो ।
पटक पटक बैठक अवरुद्ध हुन पुगेपछि ओलीले पार्टीभित्र कुनै सल्लाह नै नगरी हतारमा प्रचण्डलगायतलाई ‘देखाइदिने’ शैलीमा अध्यादेश ल्याएका थिए । सोही अध्यादेशका कारण पार्टीभित्र र बाहिरका साथै सर्वोच्चमा समेत रिट परेपछि प्रधानमन्त्री ओली ब्याक हुन राजी भएका हुन् ।
प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएपछि बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ र, बैठकमा अध्यक्ष ओली पनि सहभागी छन् ।