नेपालगन्ज : प्रमुख प्रतिपक्ष पार्टी नेपाली काँग्रेसले मंसिर २९ गते देशब्यापी सरकारविरुद्ध सडक आन्दोलन गरेको हप्तादिन पुग्न नपाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले सडक संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले देशको समसामयिक राजनीतिक विषयहरुमा बृहद छलफल गरि सडक संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणअन्तर्गत संघर्षका कार्यक्रम घोषणा गरिएको राप्रपा केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्रा र ध्रुवबहादुर प्रधानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
घोषित संघर्षका कार्यक्रम अन्तर्गत पुस १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने, पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाईकल ¥याली गर्ने, पुस १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने जनाइएको छ ।
पुसको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम सञ्चालन गरिने राप्रपाले जनाएको छ । यस्तै पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ६ र ७ गते काठमाडौंमा बस्ने पनि जनाइएको छ ।
केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको राप्रपाले जनाएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहिरहदाँ राजनीतिक दलहरुले आ–आफ्ना आन्दोलनका कार्यक्रम सार्वजनिक गरिरहेकाछन् । एकपछि अर्को पार्टीले सरकारविरुद्ध आफ्ना प्रदर्शन गर्न थालेपछि यतिबेला सरकार र सत्तारुढ नेकपालाई टाउको दुखाई भइरहेकोछ ।
सत्तारुढ नेकपाको आन्तरिक विवादकै कारण सिर्जित असहज परिस्थितीका राजनीतिक शक्तिले आफ्ना गतिविधिलाई सशक्त बनाइरहेकाछन् ।