नेपालगन्ज : संसद विघटनको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट ७ मन्त्रीहरुले राजीनामा दिएका छन् ।
राजीनामा दिनेहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव, खानेपानीमन्त्री विना मगर रहेका छन् ।
राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य समेत रहेका वर्षमान पुनले आवेगमा राजीनामा नदिएको बताए । गल्ती ग¥यौं भनेर सोच्न र त्यसलाई सच्याउन प्रधानमन्त्रीलाई दबाव होस् भनेर सामूहिक राजीनामा दिएको उनले बताए ।
पत्रकार सम्मेलनमा अर्का नेता भुसालले भने, नेपालका राजनीतिक स्थिरताका साथ विकस गर्ने असाधारण सम्भावना गत निर्वाचनपछि खुलेको हो । त्यसमाथि गम्भीर धक्का लागेको छ । एक हिसाबले यो दुर्घटना हो ।’ संसद विघटन भएसंगै देशभर यसका विरोधमा प्रदर्शन भइरहेकोछ ।