नेपालगन्ज : प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा १३ रिट दायर भएको छ । विभिन्न अधिवक्ताले दायर गरेका ती रिट सर्वोच्चको संवैधानिक ईजलासमा दर्ता भएको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए ।
ती रिटमा पुस ८ गेत सुनुवाइ हुनेछ । संवैधानिक ईजलासमा बुधबार र शुक्रबार बहस हुन्छ । संवैधानिक ईजलासमा प्रधानन्यायााधीशसहित पाँच जना न्यायाधीश हुन्छन् ।
संवैधानिक ईजलासका लागि सर्वोच्चले तयार गरेको रोष्टरमा भएका १० मध्ये चार जना न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले छान्नेछन् ।
सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार अहिले संवैधानिक इजलासका लागि तयार भएको रोष्टरमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकासिंह राउत र सपना प्रधान मल्ल छन् ।
मन्त्रिपरिषद्ले गरेको संसद विघटनको सिफारिस खारेज गर्न सर्वोच्चमा सिधै पनि मुद्दा पर्न सक्छ । यसरी परेको मुद्दा कुनै एक जना न्यायाधीशले हेर्न सक्छन् । ती न्यायाधीशले यो संवैधानिक विषय हो भन्ने ठाने संवैधानिक ईजलासमा पठाउन सक्छन् ।