संसद विघटन विरुद्ध

संसद विघटन विरुद्ध तीन दलले सामूहिकरुपमा प्रतिबाद गर्ने


संसद विघटन विरुद्ध तीन दलले सामूहिकरुपमा प्रतिबाद गर्ने

नेपालगन्ज : सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको प्रमुख ३ दलको बैठकले ठहर गरेको छ ।

नेपाली काँग्रेसको आह्वानमा काँग्रेस पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधि सभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको तीनै दलको समान धारणा छ । उक्त कार्यको विरोध गर्न तीनै दल सहमत भएका छन् ।’

३ दलको बैठकले यसविरुद्ध प्रतिवाद गर्ने निष्कर्ष निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर, कसरी प्रतिवाद गर्ने भन्नेबारे भने मंगलबार तीनवटै पार्टीको केन्द्रीय कमिटीको बैठक रहेकाले उक्त बैठकमा छलफल गरेपछि पुनः बैठक बस्ने सहमति भएको श्रेष्ठले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

बैठकको निर्णयमा भनिएको छ ‘तीनै दलले आगामी कार्यक्रम तय गर्न आ–आफ्ना दलका केन्द्रीय कार्यसमितिमा छलफल र निर्णय गर्ने समझदारी भएको छ ।’
संसद विघटनको निर्णय विरुद्ध तीन वटै पार्टीले एकतावद्ध भएर अगाडि बढ्ने समझदारी पनि गरेका छन् ।

बैठकमा नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डाक्टर शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु बालकृष्ण खाँण, डाक्टर मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता झलनाथ खानाल, नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, वर्षमान पुन र कृष्णभक्त पोखरेल र जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, उमाकान्त झा र जितेन्द्र सोनल बैठकमा सहभागी थिए ।