ओलीले गराए नयाँ केन्द्रीय सदस्यलाई शपथ ग्रहण, धुम्बाराही पार्टी कार्यालय बन्द

नेकपा (ओली समूह)को प्रवक्तामा प्रदीप ज्ञवाली चयन, पार्टी हितविपरीत काम गरेको भन्दै नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाइयो


ओलीले गराए नयाँ केन्द्रीय सदस्यलाई शपथ ग्रहण, धुम्बाराही पार्टी कार्यालय बन्द

काठमाडौं : नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरु थप गरेर बालुवाटारमा नै शपथ ग्रहण गराएका छन् । उनले हिजो थप गरेको भनिएका सदस्यहरुलाई आजको बैठकमा बोलाएका थिए । ४४७ जना मौजुदा सदस्यमा ५५६ जना थप गर्ने निर्णय गरेका थिए ।

आज उपस्थित भएका केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराइएको प्रधानमन्त्रीको प्रेस सल्लाहकारसमेत रहेका नेता सूर्य थापाले जानकारी दिए । ओलीले राखेको प्रस्ताव बैठकमा सर्वसम्मतले पारित गरेको थियो ।

यस्तै नेकपा (ओली समूह)को प्रवक्तामा प्रदीप ज्ञवाली चयन भएका छन् ।  बालुवाटारमा जारी ओली समूहको बैठकले प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको हो । बैठक अहिले पनि जारी छ । केन्द्रीय सदस्य कृष्ण राईका अनुसार पार्टी हितविपरीत काम गरेको भन्दै नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर ज्ञवालीलाई राखिएको हो ।

यसैबीच, नेकपाका दुई पक्षीय केन्द्रीय कमिटी बैठक गर्ने अवस्थामा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बैठक बालुवाटारमा चलिरहेको छ । भने, धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालय बन्द गरिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

पार्टीको कचिङ्गलका कारण ओली पक्षले पार्टी कार्यालय सोमबार नै बन्द गराएको हो ।  सोमबार कार्यालय पुगेका कर्मचारीहरुलाई ओली निकट केन्द्रीय सदस्य तथा पार्टी कार्यालका सचिव ईश्वरी रिजालले कर्मचारीहरुलाई आफ्नै घरमा बस्न निर्देशन दिएको कर्मचारी चन्द्रदेव पासवानले जानकारी दिए । ‘पार्टी कार्यालयमा आउनुपर्दैन । तपाईँहरु आ–आफ्नो डेरामा गएर बस्नुस् भन्नुभएको छ । त्यसैअनुसार आज कार्यालय गएका छैनौँ,’ उनले भने ।

पूर्वमाओवादी निकट कार्यालय सचिव श्रीराम ढकालले भने आफू केही ढिलो गरी कार्यालय पुग्दा कर्मचारीहरुलाई बिदा दिइसकिएको जानकारी पाएको बताए । ‘कार्यालय सचिवले कार्यालय बन्द गरेर आ–आफ्नै डेरमा गएर बस्नु भन्नुभएछ । त्यसपछि उहाँहरु बन्द गरेर घर जानु भएछ,’ उनले भने ।

उनी अहिले केन्द्रीय कमिटी बैठकको तयारीमा पेरिसडाँडामा रहेको जानकारी दिए । ‘म परिसडाँडामा छु । यताको कार्यालय खुलेको छ । उताको जानकारी छैन,’ उनले भने । प्रचण्ड–नेपाल समूहले दिउँसो १ बजे बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बैठक बोलाएका छन् ।

पार्टी कार्यालय आफ्नो पक्षमा पार्ने द्वन्द्वका कारण कार्यालय बन्द गराइएको अर्का कर्मचारी सुनाउँछन् । पार्टी कार्यालयमा बैठक बोलाउन रोक्नका लागि कार्यलय बन्द गरिएको उनले बताए ।