बुधबार सातै प्रदेशमा भेला
काठमाडौं : नेकपा ओली समूहले आफूहरु नै वैधानिक भएको दाबी गर्दै पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ । नेकपा ओली समूहको बैठकले प्रचण्ड–माधव नेपाल समूहको बैठक आधिकारिक नहुने दावि समेत गरेकोछ ।
यतिबेला नेकपा प्रचण्ड–नेपाल समूहको बैठक बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बस्दैछ । उक्त बैठकले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने पूर्वयोजना सहित थप निर्णय गर्नेछ ।
यता बालुवाटारमा बसेको नेकपा ओली समूहको केन्द्रीय समिति बैठकबाट प्रवक्ताको जिम्मेवारी पाएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकपछि प्रतिक्रिया दिदै ‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना पनि बैठक बस्छ र ? त्यो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरा पनि भएन ।’ बताएकाछन् । पार्टीको मौजुदा विधानले महासचिवले नै बैठकको सूचना र एजेण्डा तय गर्ने भनेकाले आफूहरु नै वैधानिक भएको ज्ञवालीको तर्क छ ।
उनले नेकपा विभाजित नभई एकताबद्ध भएको दाबीसमेत गरे । तर, प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाएका थिए ।
बैठकमा उनले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीयमा ५५६ थपेर महाधिबेशन आयोजक समिति बनाउने प्रस्ताव अनुमोदन गरे, जसलाई बैठकलाई अनुमोदन गरिसकेकोछ ।
बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ भने पुष ९ गते महाधिबेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ ।
यसबीच, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ । बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए ।
आगामी वर्ष मंसिर २ मा महाधिवेशनकै मिति तोकेर गतिविधि अगाडि बढाएको यो समूहले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।
ओलीले विधान संशोधन गर्दै हालको केन्द्रीय कमिटीमा ५५६ जना सदस्य थप गरिएको छ । ११९९ जनाको महाधिवेशन आयोजक समितिमा रिक्त हुने १९६ जना पछि थप गर्ने ओली समूहको निर्णय छ ।
अब नेकपा प्रचण्ड–माधव समूहको बैठकले लिने निर्णयलाई महत्पूर्णका साथ हेरिएकोछ । के प्रधानमन्त्री ओलीलाई कारबाही होला ? नेकपाको एक्यबद्धता टुटेको औपचारिक घोषणा होला ? बेलुकासम्म यसको निर्णय बाहिरीनेछ ।