संसद विघटनविरुद्ध काँग्रेस र नेकपाले देशभर आन्दोलन गर्ने


संसद विघटनविरुद्ध काँग्रेस र नेकपाले देशभर आन्दोलन गर्ने

नेपालगन्ज : संसद विघटनका विरुद्ध देशभर आन्दोलन हुने भएकोछ । प्रमुख प्रतिपक्ष पार्टी नेपाली काँग्रेस र नेकपा (प्रचण्ड–नेपाल) समुहले संसद विघटनका विरुद्ध देशभर आन्दोलन गर्ने भएकाछन् ।

नेपाली काँग्रेसले पुस १३ गते र प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पुस १४ गते प्रतिनिधि सभा विघटनविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएका हुन् । बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताए ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुष १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले विरोध प्रदर्शन घोषणा गरिएको उनको भनाइ छ ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडल पक्षको जोडबलमा सभापति शेरबहादुर देउवा आन्दोलनमा जान तयार भएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

बिहीबार बिहान बसेको पौडेल पक्षीय केन्द्रीय सदस्यको भेलाले पार्टीलाई सडक संघर्षमा उतार्नु पर्ने निष्कर्ष निकालेका थिए । त्यही अनुसार बिहीबारको बैठकले आन्दोलनमा जाने निर्णय लिइएको बुझिएको छ ।

यस्तै बिहीबार बसेको प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको तेस्रो बैठकले प्रवक्ता नाराणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय आन्दोलन परिचालन समिति समेत बनाएको छ । यो समूहले शुक्रबारदेखि नै आन्दोलन थाल्नेछ ।

नेकपा केन्द्रीय सदस्य निरज आचार्यका अनुसार १४ पुसमा काठमाडौं उपत्यकासहित देशव्यापी रूपमा प्रदर्शन गर्ने निर्णय भएको हो । त्यसअघि ११ पुसमा सबै प्रदेश कमिटीको बैठक सम्बन्धित प्रदेशमा बस्नेछ । १२ पुसमा ७७ वटै जिल्लामा भेला आयोजना गरिनेछ भने सोही दिन वर्तमान अवस्था र कार्यभारका विषयमा प्रशिक्षण सञ्चालन गरिनेछ ।

यस्तै, शुक्रबार बिहान साढे ९ बजे माइतीघर मण्डलामा सबै केन्द्रीय सदस्य जम्मा भएर १० बजे संयुक्त पत्रसहित निर्वाचन आयोग जाने तय भएको छ । शुक्रबार नै २ बजे पत्रकार सम्मेलन समेत गरिनेछ ।

२० पुससम्म सबै नगर र गाउँ कमिटीका बैठक र भेला गर्ने तथा २५ पुससम्म सबै वडाहरूमा बैठक र भेला गर्ने दाहाल–नेपाल समूहको निर्णय छ । १४ पुसभित्र जनसंगठनहरूका बैठक गर्ने पनि निर्णय गरिएको छ । दोस्रो चरणमा सशक्त आन्दोलन गर्ने यो समूहको तयारी छ ।