नरैनापुरमा प्रधानमन्त्रीको पुत्ला जलाइयो


नरैनापुरमा प्रधानमन्त्रीको पुत्ला जलाइयो

नेपालगन्ज : संसद् विघटनका विरुद्ध देशभर प्रदर्शन र विरोध भइरहेका बेला बाँकेमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएकोछ ।

बाँकेको राप्ती पारी नरैनापुरमा संसद विघट्नको विरुद्ध शनिबार प्रधानमन्त्री ओलीको पुत्ला जलाइएको हो ।

जनता समाजवादी पार्टीले नरैनापुरमा सरकारविरुद्ध प्रदर्शन गर्दै पुत्ला जलाएको छ । पार्टीका नरैनापुर गाउँपालिकाका अध्यक्ष डिठ्ठाप्रसाद मौर्यको अध्यक्षतामा भएको विरोध कार्यक्रममा स्थानीयबासीले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।

संघीय संसद खारेजको विषय गैरकानूनी रहेको भन्दै सरकार विरुद्ध पुत्ला दहन गरिएको मौर्यले बताए । पार्टीका केन्द्रीय सदस्य रामकुमार दीक्षित समेत सहभागी रहेको विरोध कार्यक्रममा स्थानीयबासीले सरकारले गरेको असंवैधानिक निर्णय फिर्ता लिनुपर्ने माग अघि सरेको छ ।

‘सरकारले गरेको निर्णय फिर्ता लिनुपर्छ,’ अध्यक्ष मौर्यले भने, ‘हामी सरकारको कठपुतली होइनौं ।’ कुनै पनि ब्यक्ति विशेषको निर्णयको आधारमा सरकार विघटन गर्न नहुने केन्द्रिय सदस्य दीक्षितले तर्क गरे ।

स्थानीयबासी र नेताहरुको उपस्थितिमा भएको विरोध कार्यक्रममा सरकारले गरेको निर्णय फिर्ताको माँग अघि सारिएको हो ।