न्यायमुर्तिप्रति भरोसा भए पनि काँग्रेस टुलुटुलु हेरेर बस्न सक्दैन : थापा


न्यायमुर्तिप्रति भरोसा भए पनि काँग्रेस टुलुटुलु हेरेर बस्न सक्दैन : थापा

नेपालगन्ज : नेपाली काँग्रेसका नेता एवम पूर्वमन्त्री गगन थापाले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि ठूलो प्रहार गरेको बताएकाछन् ।

नेपाली काँग्रेस क्षेत्र नम्बर २ बाँकेले नेपालगन्जमा सोमबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको पछिल्लो कदम सर्वसत्तावादी र अधिनायकवादी रहेको जिकिर गरे ।

‘यो सर्वसत्तावादी र अधिनायकवादी कदम हो, यो कदमले नेपाललाई ठूलोे अराजकतातर्फ लिएर जाँदैछ, ठूलो अनिश्चिततातर्फ लिएर जाँदैछ, यो नेपालमाथिको ठूलो षडयन्त्र हो,’ उनले भने ।

देश तथा विदेश सबैतिरको अनुकुल वातावरण पाउँदापनि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेकपाबाट निर्वाचित प्रधानमन्त्री ओलीले संविधान र व्यवस्थाप्रति विश्वासघात गरे । ‘यो संविधान र व्यवस्थाप्रतिको विश्वासघातले गर्दा आज सिंगो व्यवस्थामाथी नै प्रश्न उठिरहेको छ,’ उनले भने ।

Kids Festival 2022
kanti aarogya hospital

प्रतिनिधी सभा भंगको मुद्दा यतिबेला सर्वोच्चमा रहेको उल्लेख गर्दै थापाले संविधान हेरेर अदालतबाट न्याय मिल्ने विश्वास ब्यक्त गरे । उनले अदालतमाथि भरोसा रहेको बताउँदै न्यायमुर्तिप्रति भरोसा भए पनि काँग्रेस टुलुटुलु हेरेर बस्न नसक्ने भएकोले सडकबाट प्रतिरोध गरिएको थापाले बताए ।

उनले प्रधानमन्त्रीको अधिनायकवादी कदमबाट जनताको विश्वास डगमगाइरहेको बताउदै भने–‘अदालतप्रति काँग्रेसको भरोसा छ । अदालतको स्वतन्त्रताका लागि हामी लडेको हो,’ उनले अगाडी थपे, ‘अदालतले न्याय दिन सक्नुपर्छ अनि अदालत हुनुको अर्थ रहन्छ । अदालतले न्याय दियोस् श्रीमान् ।’

उनले अदालतबाट न्याय पाइएन भने जनताका बीचमा जाने समेत चेतावनी दिए । सर्वोच्च पदमा बसेका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनतासँग कपटी, जाली र फट्याई गरे । संसदभित्र टाउको गनेर प्रधानमन्त्रीमा निर्वाचित भएका ओली अहिले टाउको संख्या कम भएपछि मैदान छाडेर भागेको उनको आरोप छ ।

अर्को प्रसंगमा नेता थापाले तत्कालीन एमाले र माओवादीबीचको एकीकरण आलु र काउली जस्तै भएको भन्दै ब्यंग्य समते गरे । उनले यस्तो भन्दा उपस्थित सहभागि गलल हाँसेका थिए ।

नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताको अध्यक्षतामा भएको उक्त कार्यक्रममा काँग्रेस बाँकेका सभापति किरण कोइराला, प्रदेश सांसद मोहम्मद याकुब अन्सारीलगायतका नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।

यसैबीच, नेपाली काँग्रेसका नेता एवम पूर्वमन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा नेपाल प्रेस युनियन बाँकेले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेकोछ ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीका अनुसार नेपालगन्जको भुजईगाउँस्थित सोल्टी होटलमा मङ्गलबार विहान ७ः३० बजे पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको बताए ।