संसद विघटन विरुद्ध नेपालगन्जसहित देशभर विरोध


संसद विघटन विरुद्ध नेपालगन्जसहित देशभर विरोध

नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै देशैभर प्रदर्शन गर्न लागिएको सो पार्टीका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसैक्रममा काठमाडौँ उपत्यकामा विभिन्न ८ स्थानबाट र्याली निकालिने तयारी भएको छ । नक्साल, बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथलीलगायतका ठाउँबाट निकालिने र्याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । आजको प्रदर्शनमा उपत्यकामा मात्रै एक लाख मानिस उतार्ने नेकपा नेताहरुले दाबी गरेका छन् ।

भृकुटीमण्डपमा हुने सभामा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने बताइएको छ ।

यसअघि नेपाली काँग्रेसले पुस १३(हिजो) बाँकेसहित देशभर  विरोध प्रदर्शन गरेकोछ । काँग्रेसले विरोध प्रदर्शन गरेकै भोलीपल्ट अर्थात आज प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी आन्दोलन गर्न लागेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

गत बिहीबार बसेको प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको तेस्रो बैठकले प्रवक्ता नाराणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय आन्दोलन परिचालन समिति समेत बनाएको छ ।

यो समूहले शुक्रबारदेखि नै आन्दोलन थालेपनि आज देशव्यापी रूपमा प्रदर्शन गर्दैछ । यसपछि नेकपा प्रचण्ड–नेपाल समुहले दोस्रो चरणमा सशक्त आन्दोलन गर्ने जनाएकोछ ।

यसबीच, राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूको नेतृत्वमा सोमबार बेलुका कोहलपुरमा मशाल जुलुस निकालिएको थियो । संसद विघटनपछि देशब्यापी आन्दोलनको पुर्वसन्ध्यामा कोहलपुरमा मशाल जुलुस निकालिएको हो ।

कोहलपुरस्थित सहिद स्मृती भवनदेखी सुरु भएको मशाल जुलुस न्यूरोड चोकमा पुगि समापन भएको थियो । त्यसक्रममा सहभागीहरुले प्रधानमन्त्री बिरुद्ध चर्को नाराबाजी गरेका थिए ।