नेपालगन्ज : नेकपा प्रचण्ड–नेपाल समूहले नेपालगन्जमा संसद विघटनविरुद्ध विरोध प्रदर्शन र सभा आयोजना गरेको छ । नेपालगन्जको विपि चोकबाट निस्किएको विरोध जुलुस नगर परिक्रर्मा गरि त्रिभुवन चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । कार्यक्रममा सहभागी हुन जिल्लाका विभिन्न ठाउँबाट नेकपा नेता तथा कार्यकर्ता आएका थिए ।
पार्टीका कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने कदमको चर्को विरोध गर्दै नाराबाजी गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य एवम सांसद महेशवर गहतराज ‘अथक’ले प्रतिनिधिसभा विघटनले जनताको अभिमतको अपमान भएको बताए ।
उनले लोकतन्त्र रक्षाका लागि सबै शक्ति एकजुट हुनुपर्ने अवस्था आएको भन्दै ‘जनताले नेकपालाई विश्वास गरेर दिएको जनमतको अपमान गर्ने काम प्रधानमन्त्री केपी ओलीबाट भएको छ । अब संसद् पुनःस्थापनाबाटै जनमतको कदर हुनुपर्ने आफूहरुको माग रहेको छ ।
पूर्व राज्य मन्त्री दलबहादुर सुनारले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएकाले सच्याउन चेतावनी दिदै अदालतबाट असंवैधानिक कदम नसच्चिए सकडबाट फाल्ने बताए ।
यस्तै सभालाई सम्बोधन गर्दै नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले ओलीको कदम प्रतिगामी भएको भन्दै यसलाई सच्याएर अघि बढ्नुपर्ने अवस्था आएको बताए ।
उनले अगाडी थपे–‘प्रधानमन्त्रीका कारण देश पुनः अराजकतातर्फ उन्मुख हुने हो कि भन्ने चिन्ता थपिएको छ ।
नेकपा बाँकेका सचिव अशोक कोईराला लगाएतका नेताहरुले प्रधानमन्त्रीको संविधान विपरित तानाशाही प्रवृत्तिको बिरोधका लागि सडकमा आउनुपरेको धारणा राखेका थिए ।
प्रर्दशनमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, ‘तानाशाह केपी ओली मुर्दावाद’, ‘ओली तेरो पाराले दुःख पाए साराले जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।
यसैबीच, नेकपाका नेता महेश बस्नेतले संसद पुनस्र्थापना भएमा देशमा अराजकता बढ्ने बताएका छन् । प्रेस संगठन, बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले संसद पुनर्स्थापना भएमा देशमा अराजक र अपराधीकरण बढ्ने दाबी गरे ।
उनले माधव नेपाल र झलनाथ खनाललाई सूर्य चुनाव चिन्ह चाहिएमा मूलघरमा फर्किन आह्वान गरे । माधव नेपाल र झलनाथ खनाललाई लक्षित गर्दै नेता बस्नेतले थपे, ‘भागी विवाह गर्नु भएको छ । थर र गोत्रको डर पनि छ । माधव र झलनाथले हसिया हथौडा लिन सक्नुपर्छ । सूर्य चिन्ह चाहिएमा यतै आए हुन्छ ।’
नेता बस्नेतले एमालेको गुटबन्दीमा रमाएका साथीहरु प्रचण्डतिर लागेको आरोप लगाए । बस्नेतले गुटबन्दी रमाएहरुका संसद पुनस्र्थापना भइहालेमा प्रधानमन्त्री हुन पाइन्छ कि भन्ने आशा रहेको बताए ।
बस्नेतले प्रचण्ड–माधव समूहलाई पार्टीको माओवादी वा मालेमा नामाकरण गरेर अघि बढ्न सुझाव दिँदै भने, ‘पेरिसडाडाँमा एमालेले दाबी गर्दैन । तपाईँहरु पनि बल्खुलगायत देशभरका एमालेले पसिना बगाएर बनाएका संरचनाहरुमा आँखा नलगाउनुस् । यदि हाम्रा सम्पतिमा आँखा लगाएमा देशभरका युवा विद्यार्थी चुप बस्दैनन् ।’