आज राष्ट्रिय मेलमिलाप दिवसः सरकारको विरोध गरि मनाइदै


आज राष्ट्रिय मेलमिलाप दिवसः सरकारको विरोध गरि मनाइदै

नेपालगन्ज :आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । नेपाली काँग्रेसले यो वर्षको राष्ट्रिय एकता मेलमिलाप दिवसलाई सरकारले गरेको गलत कदमलाई लिएर राष्ट्रिय एकताको रुपमा मनाउने भएको छ ।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न यो वर्षको मेलमिलाप दिवस केन्द्रीत हुने बताए ।

काँग्रेसले २०३३ साल पुस १७ गते देखि हरेक वर्ष सोही दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ । यो वर्ष मेलमिलाप दिवसको कार्यक्रम ७७ वटै जिल्लामा मनाउने निर्णय काँग्रेसले गरेको छ ।

यसैक्रममा, नेपाली काँग्रेस बाँकेले मेलमिलाप दिवसका अवसरमा विचार गोष्ठिको कार्यक्रम गर्ने भएकोछ ।  नेपाली काँग्रेस पार्टी कार्यालय नेपालगन्जमा आज दिउँसो १ बजे दिवसका अवसरमा विचार गोष्ठि गर्न लागेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

उक्त विचारगोष्ठिमा उपस्थितीका लागि नेता, कार्यकर्ता, भातृसंगठन, शुभेच्छुक संस्था तथा सर्वसाधरणलाई आह्वान गरिएकोछ ।

यसैबीच दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको औचित्य अझै बढेको बताएका छन् । उनले आज ट्वीटरमार्फत् एक शुभकामना सन्देश जारी गर्दै ४४ वर्षअघि बीपी कोइरालाले मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरण गर्दै देशको वर्तमान अवस्थामा राजसंस्थासहितको लोकतन्त्र सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।

यसरी मनाउन थालियो राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

८ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते काँग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु स्वदेश फर्किएको दिनको सम्झनामा काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ ।

२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मुलुकमा अस्थिरता सुरु भएको थियो । बीपीसहित विभिन्न नेताहरु ७ वर्ष जेल बसेर २०२५ सालमा भारत प्रवासमा जानु गएका थिए ।

अस्थिरताका कारण मुलुकको अवस्था झनै कमजोर बन्दै गएपछि बीपीसहितका नेताहरु राजनीतिक दल तथा राजा मिलेर राष्ट्रिय एकता तथा मेलमिलाप गरी देशको विकास गर्ने भन्दै फर्किएका थिए । राष्ट्रिय मेलमिलापको नीति बोकेर बीपी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष काँग्रेसले यो दिवस मनाउँदै आएको छ ।