संसद विघटनविरुद्ध काँग्रेस पुनः आन्दोलित


संसद विघटनविरुद्ध काँग्रेस पुनः आन्दोलित

File Photo

नेपालगन्ज : प्रमुख विपक्षी दल नेपाली काँग्रेसले वडातहसम्म प्रदर्शन र सभा गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा आईतबार बसेको केन्द्रीय समिति बैठकले आगामी पुस २५ गतेदेखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो ।

आन्दोलनलाई शसक्त बनाउदै लगेको काँग्रेसले आगामी पुस २५ गते ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्नेछ । त्यसपछि माघ ३ गते ७५३ वटै स्थानीय तहमा र माघ ८ गते ६७४३ वटै वडामा प्रदर्शन र सभाको कार्यक्रम तय भएको छ ।

काँग्रेसले पार्टीका जिल्ला समितिले आफ्नो अनुकुलतामा तथा पार्टीका भातृ तथा शुभेच्छुक संगठनहरुले आ–आफ्नो आवश्यकता र अनुकुलतामा जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बैठकले क्रियाशील सदस्यता विवरण २०७७ माघ मशान्तसम्म गरिसक्ने मिति तय पनि गरेको छ ।

नेपाली काँग्रेसले संसद विघटनविरुद्ध पार्टी एक मतले आन्दोलनमा रहेको बताएको छ । संसद विघटनका विषयमा काँग्रेसबारे भ्रमपूर्ण समाचारहरु आइरहेको भन्दै आईतबार एक विज्ञप्तिमार्फत ‘संसद विघटनको असंवैधानिक कदमका विरुद्ध एउटै निर्णय र प्रष्ट धारणा साथ नेपाली काँग्रेस एकमतका साथ आन्दोलनको मैदानमा छ ।’

संसद विघटन गरेकै दिन पुस ५ गते बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकदेखि नै काँग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको र देशब्यापी विरोध प्रदर्शन गरिसकेको काँग्रेसले बताएको छ ।