नेपालगन्ज : नेपालगन्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएकोछ ।
संसद विघटनपछि उत्पन्न राजनीतिक तनावका कारण यतिबेला देशभर यसको विरोध भइरहेकोछ । प्रधानमन्त्रीद्वारा गरिएको असंवैधानिक कदमको विरोधमा देशभर आन्दोलन चर्किरहदाँ नेपालगन्जमा बिहीबार प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको हो ।
अनेरास्ववियू बाँकेले कामचलाउ प्रधानमन्त्री ओलीले चालेको कदमका विरुद्ध पुत्ला दहन गरेको बताएको छ ।
‘संसद विघटन बिरुद्ध अनेरास्ववियू केन्द्रिय समितिले आह्वान गरेको संघर्षका कार्यक्रम अन्तर्गत बिहिबार बाँकेको नेपालगन्जमा प्रधानमन्त्री ओलीको पुत्ला जलाईएको हो । हाम्रा आन्दोलनका कार्यक्रम निरन्तर चलिरहनेछ’ अनेरास्ववियुका केन्द्रिय सदस्य नेता तुलसीमणी केसीले बताए ।
नेता केसीले भने–‘संगठनले प्रतिगामी कदमलाई सडकबाटै निस्तेज पार्नेछ । यसका लागि हामी बलिदान दिन तयार छौं ।’
अनेरास्ववियूले मंगलबारमात्रै दोश्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको थियो । दोस्रो चरणका सङ्घर्षका कार्यक्रम अन्तर्गत बिहीबार प्रधानमन्त्री ओलीको पुत्ला जलाउन अनेरास्ववियूले देशब्यापी आह्वान समेत गरेको थियो ।
सोही कार्यक्रम अन्तर्गत बाँकेको नेपालगन्जस्थित विपि चोकमा प्रधानमन्त्रीको पत्ला जलाईएको हो । यसअघि प्रधानमन्त्री ओलीद्वारा चालिएको असंवैधानिक कदमका विरुद्ध जसपाले बाँकेको नरैनापुर गाउँपालिकामा प्रधानमन्त्री ओलीको पुत्ला जलाउदै उक्त कार्यको विरोध जनाइसकेकोछ ।
प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध यतिबेला देशभर विभिन्न राजनीतिक दलले आफ्ना संघर्ष तथा विरोधका कार्यक्रम गर्दै आएकाछन् ।
नेता केसीका अनुसार अनेरास्ववियुको केन्द्रिय समितिले तय गरेको संघर्षका कार्यक्रम अन्र्तगत शुक्रबार सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्नाको कार्यक्रम रहेकोछ ।
यस्तै पुष २५ गते असंवैधानिक कदम विरुद्ध सडक बहस कार्यक्रम, पुस २६ गते बयलगाडा प्रदर्शन, पुस २७ गते प्रतिगमनको बिरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम, पुस २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ) तथा पुस २९ गते सडकमा प्ले कार्ड सहित कार्टून प्रदर्शन गरिदैछ । यस्तै तेस्रो चरणको कार्यक्रम आगामी माघ १ गते सार्वजनिक गरिने उनले बताए ।