प्रचण्ड–नेपाल भगौडा हुन् : प्रधानमन्त्री ओली


प्रचण्ड–नेपाल भगौडा हुन् : प्रधानमन्त्री ओली

नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहलाई पार्टी छाडेर भागेका भगौडाको संज्ञा दिएका छन् ।

कैलालीको धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष माधवकुमार नेपालमाथि यस्तो कटाक्ष गरेका हुन् ।

उनले नेताहरु पार्टीको बैठक छाडेर सडकमा गएको बताउँदै भने, –‘तपाईंहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नु भएको होला । तपाईंहरु प्रभावित भइरहनुपर्ने आवश्यकता छैन ।’

प्रचण्ड–नेपाल समुहप्रति कटाक्ष गर्दै उनले भने –‘बैठकमा नआएर नेताहरु कहाँ गएछन् भनेको त बाटोमा हामी यहाँ छौं भनेर बसेका रैछन् ।’

Kids Festival 2022
kanti aarogya hospital

प्रधानमन्त्री ओलीले सभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई दस सिट ल्याएर देखाउन चुनौती दिए । पार्टी विभाजन भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेशको धनगढी पुगेका प्रधानमन्त्रीले आफूले नेतृत्व गरेको नेकपा छोरी, बुहारी, सम्धीको पार्टी नभएको स्पष्ट पार्दै उनले प्रचण्डलाई कटाक्ष गरेका थिए ।

उनले आफू सरकारको नेतृत्वमा भए पनि कोही एकजना आफन्तलाई कतै नियुक्ति नदिएको दावि गरे ।

उनले ५० वर्षअघि देखि नै एकता–एकीकरणको अभियानको थालनी गरेको बताउदँै प्रचण्डलाई पनि काम लाग्छ कि भनेर पार्टीमा ल्याएको र ‘लाटोकोसेराले घाम लागेको बेला देख्न नसके’जस्तै सरकारले काम थालेको देख्न नसकेको टिप्पणी गरे ।

भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाः कुनै पनि हालतमा पुनःस्थापना नहुने भन्दै देश चुनावमा गइसकेको बताउँदै ओलीले वैशाख १७ र २७ मा निर्वाचन भएरै छाड्ने बताए ।

उनले आफू ६४ प्रतिशतको प्रधानमन्त्री हुँदा संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेको भन्दै कुनै पनि हलतमा पुनःस्थापना नहुने उनले दावी गरेका हुन् ।

‘६४ प्रतिशतको प्रधानमन्त्रीलाई देशका लागि काम गर्न दिएनन् । त्यसैले ताजा जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरेको हुँ,’ उनले अगाडी भने, ‘अब प्रतिनिधि सभा पुनःस्थापना हुने अर्को विकल्प छैन । अर्को विकल्प भनेको चुनावपछि आउने प्रतिनिधि सभा नै हो ।’

उनले निर्वाचनका लागि वैशाख १७ र २७ गरी दुई वटा मिति घोषणा भइसकेको बताउँदै सोही मितिमा चुनाव गराउनका लागि निर्वाचन आयोग तयारीमा लागिसकेको जानकारी दिए ।

जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई संघीयता र गणतन्त्रविरोधी भन्नेहरुलाई जवाफ दिँदै आफू गणतन्त्रकै लागि १४ वर्ष जेल बसेको बताए ।
उनले अहिले देशमा अलिकति संकटको अवस्था देखिएको र आफूलाई गणतन्त्र विरोधीका रुपमा चित्रण गर्दै देशबाट गणतन्त्र र संघीयता जाने भयो भन्नेजस्ता कुरा उठेको बताए ।

‘अहिले देशमा अलिकति संकटजस्तो स्थिति देखापरेको छ । गणतन्त्र, लोकतन्त्र, संघीयता, संविधान जाने भयो भनेर केही सडकमा कराइरहेका छन्’, उनले भने, ‘५० वर्षअघि गणतन्त्रका लागि मैदान उत्रिने अरू कोही थियो र ? गणतन्त्रका लागि ५० वर्षअघि मैदानमा उत्रिँदा १४ वर्ष जेल बसेको मै हुँ ।’