जनताको अधिकार यथावत छ : मुख्यमन्त्री पोखरेल


जनताको अधिकार यथावत छ : मुख्यमन्त्री पोखरेल

नेपालगन्ज : प्रतिनिधि सभा विघटन भएपनि जनताका अधिकार यथावत रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । बाँकेको खजुरामा सोमबार सडक उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘प्रतिनिधि सभा विघटन भनेको निरंकुशता हो, यो तानाशाही हो, आदी इत्यादी प्रकारका टिप्पणी भइरहेको छ’ पोखरेलले भने ‘यो मुलुकमा जनताका कुनै अधिकार खोसिएको छैन, कुनै संवैधानिक अंगहरु निलम्बनमा परेका छैनन्, संविधानको कुनै धारा निलम्बनमा परेको छैन ।’

सम्बोधनका क्रममा उनले प्रतिनिधि सभा विघटनको पक्षमा मत जाहेर गर्दै अगाडी थपे–‘ प्रधानमन्त्रीको गतिमा गति मिलाएर संसद आफ्नो भूमिकामा प्रभावकारी ढंगले हिड्न नसकेका कारण पाँच वर्षका लागि चुनिएका सांसदहरु तीन वर्षमै जनताका बीचमा आउनु परेको हो । यो स्थिती उत्पन्न भएको हो ।’

प्रधानमन्त्रीलाई हटाउन खोज्दाको परिणाम स्वरुप संसद विघटन भएको कुरालाई सबैले बुझ्न जरुरी रहेको भन्दै मुख्यमन्त्री पोखरेलले थपे, ‘जनताबाट जितेका प्रतिनिधीहरु ईमान्दार हुनुपर्छ र उनीहरु विकास निर्माणको कामप्रति, स्थायित्वप्रति ईमान्दार बन्नुपर्छ भन्ने कुराको सन्देश दिनका लागि हामी ताजा जनादेशमा जादैछौं ।’

Kids Festival 2022
kanti aarogya hospital
add

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी समिति सदस्य समेत रहेका पोखरेलले यो प्रक्रियाले नेपालको राजनीतिको दिशा बदल्ने दावि गरे । अझैपनि नेपालको राजनीतिमा कुर्सीका लागि अलमलिने दुश्चक्र कायम रहेको भन्दै उनले त्यो दुश्चक्रलाई तोडेर चुनावको विकल्प नरहेको बताए ।

निर्वाचन पछाडि पाँच वर्षसम्म निर्वाध रुपमा नेतृत्वलाई काम गर्न दिनुपर्छ भन्ने कुराको मान्यता स्थापित गर्न आफुहरु सफल हुने उनले दाबी गरे ।

प्रदेश सरकार लुम्बिनी प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत सडक पूर्वाधार विकास कार्यलय बाँकेद्वारा गन्धैलानाला सडक पुलको उद्घाटन गर्न आएका मुख्यमन्त्रीले सोमबार नै खजुरामा आयोजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली समूहका अगुवा कार्यकर्तालाई पनि सम्बोधन गरेका छन् ।