मधेश झरेका सिके राउत तनावमा


मधेश झरेका सिके राउत तनावमा

नेपालगन्ज: सरकारसँग ११ बुँदे सम्झौता गरेलगत्तै मधेस झरेका सिके राउत र उनका समर्थकका गतिविधिहरु एकाएक सेलाएका छन् ।
सिके राउतसँग सरकारले गरेको सम्झौताको पक्ष–विपक्षका समाचार तथा विचारले काठमाडौं लगायत अन्य क्षेत्रमा प्राथमिकता पाइरहेका बेला पूर्वी तराईका स्थानीय पत्रपत्रिकामा सिके राउतको खासै चर्चा छैन । सिके राउतले आत्मसमर्पण गरे भन्नेबाहेक थप विश्लेषण जरुरी नभएको सो क्षेत्रका जानकार बताउँछन् ।

काठमाडौंमा सिके राउतसँगको सम्झौतापछि प्रधानमन्त्री र गृहमन्त्रीले स्पष्टीकरण दिँदै हिँड्नुपरेको छ । तर मधेसमा चाहिँ सिके राउतको त्यस्तै अवस्था देखिएको छैन । अलग मधेसको एजेण्डा छाडेको भनेर जाँदा आफ्ना उग्र समर्थकबाटै आक्रमणमा परिने र ११ बुँदे सम्झौता विपरीत अभिव्यक्ति दिँदा प्रशासनिक कारवाही भोग्नुपर्ने डरका बीचमा सिके राउत यतीवेला तनावमा रहेको विश्लेषण गरिएकोछ ।

गत फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरेर पृथकतावादी अभियान छाडेका सिके राउतले जनमत संग्रहमा सरकार सहमत भएको प्रचार गरेपछि देशको राजधानी काठमाडौंको मनोविज्ञान भड्किएको थियो । यद्यपि राउतले त्यसबारे अहिलेसम्म औपचारिकरुपमा नबोलेको पूर्वी जनकपुरका उनका सहयोगीहरुले दाबी गरेकाछन् । सरकारसँगको सहमतिलाई कसरी बाहिर लैजाने भनेर आन्तरिक छलफल भइरहेको उनीहरुको भनाइ छ ।

सरकारसंग सहमति गरि यतिवेला जनकपुरको बाल्वाटोलस्थित आफ्नै निवासमा बसिरहेका सिके राउत कुनै सार्वजनिक कार्यक्रम वा भेटघाटमा समेत देखिदैनन् । सीके राउत समूहका एक नेताले आफूहरुले अलग मधेस राष्ट्र भन्ने कुरा छाडेको सत्य भएको बताएछन् । मधेसको सन्दर्भमा अब कसरी जाने भन्ने बारेमा राउतजीले योजना बनाउँदै हुनुहुन्छ । विदेशमा पनि उहाँलाई साथ दिने धेरै बिद्धान मित्रहरु रहेकाले उनीहरुको पनि राय सल्लाह लिँदै हुनुहुन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

राउत समूहका प्रवक्ता चन्दन सिंहले राज्यसँग जे लिखित सम्झौता भएको छ, त्योबाहेक अन्य कुरा अफवाह मात्रै चलिरहेको प्रतिक्रिया दिएकाछन् । उनले कार्यकर्ता र समर्थकलाई के भनेर आश्वस्त पार्ने भन्ने बारेमा आन्तरिक छलफल गरिरहेको भन्दै अन्य हल्लाको अर्थ नरहने प्रष्ट पारे । यद्यपी काठमाडौंमा सिके राउतले व्यापक चर्चा पाइरहेका बेला मधेसमा भने उल्टो परिदृश्य देखिएको छ ।