तस्विरमा हेर्नुस नेपालगन्ज
बन्दका बाबजुत खुल्ला नेपालगन्जको सदरलाईन बजार । तस्विर: विजय मल्ल/सद्भाव
नेपालगन्ज: नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहमाथी सरकारले लगाएको प्रतिबन्धका विरोधमा गरिएको देश बन्दको प्रभाव नेपालगन्जमा शून्य देखिएकोछ ।
प्रतिबन्धको विरोधमा विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव नेपालगन्जमा आंशिक परेको छ । नेपालगन्जमा बिहानैबाट निजी सवारी साधन निर्वाधरुपमा चलिरहेकाछन् । मन्ध्यान्हपछि फ्याट्फुट्ट सार्वजनिक सवारी साधन चले । बन्दका कारण नेपालगन्जबाट बाहिरिने लामो दूरीका सवारी साधन भने चलेनन् । बन्दको सवैभन्दा ठूलो प्रभाव नेपालगन्जका शैक्षिक संस्थाहरुमा प¥यो । बिहीबारको बन्दका कारण नेपालगन्जका सरकारी तथा प्राइभेट कलेज तथा विद्यालय नखुलेपछि पठनपाठन प्रभावित भयो ।
बन्दका विषयमा सद्भावकर्मीले नेपालगन्जको अवस्था विश्लेषण गर्न हिड्यो । सद्भावकर्मीले नेपालगन्जको मुटु त्रिभुवनचोक, ब्यस्त बजार सदरलाईन, एकलैनी, न्यूरोडका सम्पूर्ण पसल तथा ब्यवसायहरु पूर्णरुपमा सञ्चालनमा आएको पायो । यता, सुर्खेतरोडको विपी चोक, धम्बोझी चोकमा मोटरसाईकल, अटोरिक्सा, हलुका साना सवारीसाधनहरु निर्वाधरुपमा गुडेको पायो । त्यस क्षेत्रमा रहेका सवै पसल, ब्यवसायहरु पनि निर्वाधरुपमा खुलेको पायो ।
अन्यदिनभन्दा आज बिहीबार नेपालगन्जको मौसम प्रतिकुल थियो । ह्वात्तै गर्मी बढेकाले पनि पैदलयात्रुहरुको उल्लेख्य मात्रामा हिडडुल नै भयो । नेपालगन्जका सवै सरकारी कार्यालयहरु पनि निर्वाधरुपमा कुनै अवरोधविना खुला भएको पायो । त्यहाँ सेवाग्राहीहरुको पनि उत्तिकै भीड भएको सद्भावकर्मीले पाए ।
यसरी नगरपरिकर्मा गर्दा देखिएको दृष्यले हिजोअस्तिको दिनभन्दा कुनै फरक पाइएन । बन्दले खासै बाँकेलाई छुन सकेन । विहानमात्रै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझा चोक नजिक सुर्खेतरोडमा अज्ञात समूहले राखेको बमका कारण केहीबेर यसक्षेत्रको वातावरण त्रसित भएता पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले स्थितीलाई नियन्त्रणमा लिए । अन्तत उक्त बम निस्कृय पार्दै शान्ति सुरक्षाको अनुभूति दिलाए ।
नेपाल बन्दको अवस्थालाई मध्यनजर गर्दै जिल्लाको सुरक्षामा सर्तकता र सावधानी बढाएको पाइयो । चोक तथा नाकामा सुरक्षाकर्मीलाई स्टाण्ड बाईको अवस्थामा खटाइएको थियो । हुनसक्ने कुनैपनि घटनालाई अन द स्पट नियन्त्रण गर्न सुरक्षाकर्मी चौकन्ना देखिन्थे । मध्यान्नपछि मौसममा आएको परिर्वतनले नेपालगन्जको वातावरण चिसिदै आयो । मौसमको परिर्वतनले बन्दलाई झन् निस्तेज पा¥यो । यतिखेर नगरभित्रै ठूला सवारीसाधन पनि गुड्न थालिसकेकाछन् । लामो दूरीको यात्रा गर्ने यात्रुहरु पनि विस्तारै विभिन्न नाकामा रहेका बस स्टपमा पुगिरहेकाछन् ।
दिनभरको बन्दमा नेकपा विप्लव समूहका कुनैपनि नेता कार्यकर्ता भने देखिएनन् । यस्तो लाग्दथ्यो कि नेकपालाई नै नेपालगन्जमा आउन बन्द गरिएको हो । बन्दबाट आजित भएका नेपालीले पछिल्लो समय बन्दबाट मुक्ति पाएता पनि पछिल्ला समय देशमा बन्द गर्ने गलत चलन हावी हुन थालेको स्थानीय बताउछन् ।
नेकपा विप्लव समूहले आज बन्द आह्वान गरेको हो तर, सरकारले उसका गतिविधिमाथि प्रतिवन्ध लगाएका कारण कहीँ पनि बन्दकर्ता सडकमा देखिएका छैनन् । विभिन्न स्थानमा बिहानैदेखि शंकास्पद वस्तु तथा बम भेटिएका कारण सार्वसाधारण भने त्रसित बनेका छन् ।
(तस्विरहरु: विजय मल्ल/सद्भाव)