शुक्रबार, फागुन २१, २०७७   ०७:००:३५

‘पुर्व माओवादीकै कारण बामदेवले निर्वाचन हार्नु पर्यो, केपी ओली राजनेता हो’


स्वास्थ्य क्षेत्रमा २५ वर्षसम्मको लामो अनुभव, उद्योग वाणिज्य संघ गुलरिया बर्दियाको लागी एउटा अब्वल नेतृत्व लिदैं बर्दियामा पहिलो पटक महोत्सव सञ्चालन गर्ने, मुर्तिहा गुलरिया नाका सञ्चालनका लागी बुलन्द आवाज उठाउँदै आएका, मिडियामैत्री, समाजसेवि, उद्यमिहरुका लागी अगुवा हाल राजनीतिमा सक्रिय रहनु भएका अमरबहादुर खड्का बर्दिया जिल्लाबासीका लागी नौलो नाम होइन, पछिल्लो पटक घटेको राजनीतिक घटनाक्रममा खड्का प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा रहेका छन् । तत्कालिन नेकपा एमालेको जिल्ला अधिवेशनमा सर्वाधिक मत ल्याउँदै जिल्ला कमिटि सदस्य बन्न सफल, केहि गरौं त्यसका लागी रिक्स पनि लिनुपर्छ अनि सफलता हात लाग्छ भन्ने सोँच राख्दै अगाडि बढ्न हौसला प्रदान गर्ने खड्कासंग सेतोखरीका दीपक शर्माले गरेको समसामयिक विषयमाथिको कुराकानी :


नेपाल–भारत सीमानाका सञ्चालन गर्न उठाइएको अभियान कहाँ पुग्यो ?

-पुर्वमा बाँके पश्चिममा कैलाली विचमा परेको बर्दिया जिल्लामा पनि नाका सञ्चालन हुनु पर्दछ भनेर मैले यसअघिदेखि बुलन्द आवाज उठाउँदै आएको सर्वविदितै छ । यसक्षेत्रको उद्योग, ब्यापार र ब्यवसायको विकासका लागि उठाइएको यस्तो आवाजमा सुरुवाती समयमा मलाई साथदिने कोहि भएनन् । यसको महत्वका विषयमा जानकारहरु पनि पन्छिए । तर, आवश्यकता महसुस बढ्दै गएपछि नाकाको विषयले यतिबेला चर्चा पाउन थाल्यो । फलस्वरुप हामीले जिल्लास्तर हुदँै केन्द्रसम्म बर्दियाको सीमानाका सञ्चालन गर्नुपर्छ भन्दै ब्यापक छलफलको विषय बनाइदै छिमेकी देश भारतको लखनउ वन मन्त्रालयसम्म नाका खोल्ने विषयमा कुरा पुगेको छ । यो नेपाल र भारत दुवैदेशका लागि उपलब्धि हो । अब यो विषय बर्दिया जिल्लाको मात्र नभई दुई देशीय चिन्ता र चासको विषय बनेकोछ । केही सहमति भएकाछन् । लखनउको वन मन्त्रालयमा अड्किएको फाइललाई अगाडि बढाउनका लागी पहल गर्नु पर्ने देखिन्छ । अहिले त्यतै ध्यायन केन्द्रित छ ।

सीमानाका सञ्चाको विषय तातिदै जाँदा पछिल्लोपटक गुलरिया–रजनहा भन्ने कुरो आएको छ नी ॽ

-हैन, रजनहा भएपनि, मुर्तिहा भएपनि बर्दियाको नाका खोल्नु नै ठूलो विषय हो । त्यसकारण यो विषयलाई स्थानीय तहले पनि गम्भीरता पुर्वक लिनुपर्छ । स्थानीय तहले केन्द्रसंग समन्वय गरेर आसन्न परराष्ट्र मन्त्रीको भारत भ्रमणमा समाबेश गर्न पहल गर्न जरुरी थियो त्यसका लागी हामीले समन्वयको भुमिका खेल्नु पर्दथ्यो । यो विषय म, तपाईले मात्र उठाएर हुदैन । यसका लागि जिल्लाका सम्बद्ध निकायको एउटै आवाज हुनुपर्छ । मलाई लाग्छ हामी जिल्लाबासीको पनि त्यही माग छ । मुर्तिहा–गुलरिया नाका सञ्चालका लागि सन् २००९ मै सम्झौता भैसकेको छ । तर, भारतको ईच्छा नभएकै कारण यो अड्किएको हो । यसका लागि सरकारी तहबाट कुटनैतिकरुपमै पहल गरेमा गुलरिया–मुर्तिहा नाका सञ्चालनमा आउँछ । यसले बर्दियाबासीलाई मात्र नभई जिल्लासंग जोडिएका अन्य छिमेकी जिल्लालाई समेत फाइदा पुग्छ । छिटै नाका खुल्ने आशामा छौं ।

जिल्लाका व्यापार, व्यवसाय तथा सुरक्षा लगायतका विषय कस्तो छ ?

-खुल्ला सीमानाका कारण आम नागरिकले सास्ती भोग्नु परेको छ । यो सबैलाई जगजाहेर भएकै हो । खुल्ला सीमानाकाका कारण चोरी पैठारी बढ्दो छ । यसले गर्दा सरकारसंगै आम बर्दियाबासी उद्योगी, ब्यापारीले ठूलो नोक्सानी भैरहेको छ । यी र यस्ता विषयमा जुन तवरले जिम्मेवार निकाय गम्भीर हुनुपर्ने थियो त्यसो नभएको अवस्थामा पीडित बनेकाछौं । पीडा कतिसम्म छ भने गुलरिया बजार नजिकै भन्सार कार्यालय छ, कार्यालय देखि करिब ६ किलोमिटर दक्षिण भारतको सीमानासम्म नेपाली नागरिकले आफ्नो भूमिमा उत्पादन गरेको कृषि तथा खाद्यान्न आफनै भूमिमा समेत बेचबिखन गर्न पाइरहेका छैनन् । यो हाम्रो लागि ठूलो दुखको कुरा हो । घरको उत्पादन समेत बेच्न सहज ढंगबाट नागरिकले पाइरहेका छैनन् यो भन्दा ठुलो विडम्वना अरु के होला, तपाई आफै कल्पना गर्नुहोस् ?

किसानले एक बोरा मल पाउन सकिरहेको छैन स्थानीय तहले समन्वय गरेमा यो विषय ठूलो होइन । तर, के गर्ने भारतसंग सीमा जोडिएपनि त्यसको फाईदा किसानले पाउन सकिरहेका छैनन् । यो विषयमा स्थानीय तहका प्रमुखलाई सोँच्ने समय छैन । यसका लागि सम्बद्ध सरोकारवालासंग प्रयाप्त छलफल गरि समस्या समाधानतर्फ लाग्न जरुरी छ ।

नेतृृत्वकर्ताले जनचाहना अनुसार काम गर्न सकेनन् भन्न खोज्नु भएको हो ॽ

-हो । तपाई मलाई मात्र होइन प्रत्येक नगरबासीलाई सोध्नुहोस्, नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्षको वरीपरी घुम्ने अनि ति चाकडिबाजहरु दुईचार जनाले फाइदा लिदैँमा नगरबासी तथा समग्र जिल्लाबासीको समस्या समाधान भएको हो भन्नु किमार्थ सही होइन । यस्तो भन्नु नगरबासीलाई बेवकुफ बनाउनु मात्र हो । स्थानीय तहमा जनप्रतिनिधी आएपनि औंला भाँचेर गनौं के परिवर्तन भयो ? के सुधार भयो ? कृषिको उत्पादनमा बृद्धि भयो की, नेपाल–भारत सीमानाका खुल्यो की, यहाँको स्वास्थ्य, शिक्षा, खानेपानि तथा रोजगारको अवस्था एवम यहाँको उद्योग, व्यापारमा सुधार, अनुदान र राहतका कार्यक्रम के के भयो ? यसको सहज जवाफ एउटै छ केहि पनि हुन सकेन । औपचारिकता मात्र भए नगरबासीको चाहना अनुसार नेतृत्वकर्ताको भूमिका देखिएन ।

त्यसो भए के गर्नु पर्ने हो त ॽ

-के गर्नुपर्ने थियो के गरियो के गरिएन त्यो त नेतृत्वकर्ताले नै मनन गरुन् । हामीले आफ्नो समस्या राख्ने हो । जिम्मेवार तहमा बसेकाले यस विषयमा गम्भीर भएर लाग्नुपर्ने हो । त्यसो हुन सकेको छैन ।

यसका लागि सम्बद्ध सरोकारवालाबीच गम्भीर बहस र छलफल हुन जरुरी छ । म जिल्लाका जनप्रतिनिधिहरुलाई के भन्छु भने तपाईहरुले जिल्लाको विषयमा गम्भीर बन्नुहोस्, तदारुक्ता देखाउनुहोस् । जिल्लाको समग्र विकासका लागि बाटो ग्रावेल गर्ने र नाला बनाउने मात्र होइन, यहाँको ब्यापार, ब्यवसाय, शिक्षा, स्वास्थ्य तथा सुरक्षाका कुरामा योजनाबद्ध रुपमा अघि बढ्नुहोस् । यसका लागि सर्वपक्षिय सहमतिका साथ बहत योजना बनाएर लाग्नुपर्छ ।

अबपनि हामीले आफ्नो क्षेत्रको स्तरउन्नती र यहाँको समस्या समाधानका लागि लागौं । यसका लागि छलफल नभएको भने होइन तर, त्यस सम्बन्धि केहि जानकारी राख्ने दिग्गजहरुसंगको छलफल र परामर्श त लिनुपर्यो ।

जहाँ नेतृत्व कमजोर हुन्छ त्यहाँका नागरिकले दुःख पाउँछन् । अहिले गुलरियाको हालत यस्तै भएकोछ । औधोगीक क्षेत्र स्थापना गरी कलकारखाना सञ्चालनको लागी स्थानीय तहले चासो लिनुपर्छ, कृषि उत्पादनको लागी किसान मैत्री योजना ल्याउनु पर्यो, पर्यटन क्षेत्रको पहिचान गरी आर्थिक सामाजिक स्तर उकास्नतर्फ लाग्नुपर्छ अनि मात्रै नगरबासीले अपनत्व महसुस गर्छन् । अहिले खोलिएका नगर स्वास्थ्य नाम मात्रको छ यसको कुनै अस्तित्व छैन ।

भौगोलिकरुपमा सहज भएपनि बर्दिया किन पछाडि भयो ?

-बर्दिया पछाडी पर्नुका थुप्रै कारणहरु छन् । राजनीतिक, सामाजिक, आर्थिक, शिक्षा र स्वास्थ्य लगायतका कुराले गर्दा राज्यको मूलप्रवाहिकरणमा जहिले पनि पछि हुदैँ आएको छ । यसले बर्दियाको साख र अस्तित्व धरापमा परेको प्रष्ट छ । यद्यपी बर्दियामा नेतृत्व गर्ने नेतृत्वकर्तामा दूरगामी सोँचको विकास नभएकै कारण यस्तो भएको हो । बर्दियाले अहिलेसम्म सहि नेतृत्व पाएको छैन भन्दा फरक पर्दैन । यसैका कारण यो अवस्था आएको हो ।

बबई नहर गुरु योजना बाहेक अर्को कुनै गुरु योजना बर्दियामा छैन, यो बर्दिया बासीका लागी दुर्भाग्य हो । जितेकाले पनि आफ्नो जिल्लाका लागी केहि गर्न सकेनन । ब्यक्तिपिच्छे, नेतृत्वकर्तापिच्छे स्वार्थका कारण यहाँको सवाल जहिले पनि ओझेलमा पर्दै आएको जगजाहेर छ ।

त्यसो भए बामदेव गौतमले निर्वाचन हार्दा बर्दिया झन् पछाडि परेको हो ॽ

-कुन व्यक्ति जित्दा फाईदा र कुन ब्यक्ति जित्दा घाटा भन्ने कुरा काम गर्ने क्रममा देखिन्छ । समग्र जिल्लाको विकास र सवालमा यहाँ कोही पनि गम्भीर भएको देखिदैन । तर, तपाईले भनेझैँ केहि हदसम्म होला यद्यपी बर्दियाको लागी बामदेव गौतम र सञ्जय गौतम दुवै जनाले चासो देखाएपनि बर्दियाबासीले सोँचे जस्तो काम गर्न नसेकेको अवस्था पनि हो ।

त्यसो भए गौतमको हारलाई के भन्नुहुन्छ ?

निर्वाचनमा जानु एउटा पक्ष हो । निर्वाचनको मतपरिणाम आउनु अर्को पाटो हो र निर्वाचनबाट आएको परिणाम स्वीकार्नु फरक पाटो हो । बामदेव गौतमको हारमा घात भएकै हो । हारको मुख्य कारण पनि यही नै हो । तत्कालिन अवस्थामा सबै भन्दा ठूलो अन्तरघात माओवादीले गरेको हो भने बाँकि रहलपहल तत्कालिन नेकपा एमालेले पनि अन्तरघात गरेकै कारण बामदेव गौतमले निर्वाचन हार्नु भयो । यद्यपी बामदेव गौतमलाई निर्वाचनमा हराउन माओवादिकै ठूलो भुमिका छ ।

अहिले पार्टी भित्र किन यस्तो विवाद आयो ॽ

-पार्टीभित्रको विवाद फरक हो । राजनीतिक विवाद फरक हो । यो पार्टीमा विवाद आएको हैन । केहि व्यक्तिले पदका लागी गरेको उदण्ड कार्यको परिणाम हो । २ तिहाई बहुमतको सरकारलाई काम गर्न नदिने सत्ता पक्षकै प्रतिपक्ष नेताहरुले सधै सरकारको आलोचना गर्ने, पदका लागी आफ्ना नातागोता, आफ्ना मान्छे राख्ने परिपाटिको विकास हुदै जाँदा सत्ता र पदको लोभले गर्दा उत्पन्न परिस्थिका कारण यो अवस्था सिर्जना भएको हो ।

संसद विघटनपछिको अवको अवस्थामा के होला ॽ

-अव निर्वाचन हुन्छ, ताजा जनादेशको लागी प्रधानमन्त्रीले निर्वाचनमा जाने भनेको हुँदा सवै राजनितिक दल निर्वाचनमा जानु बाहेका अर्को कुनै विकल्प छैन । यसैमा सबैको हित छ । सडकमा मानिसको हुल बढाउँदैमा केही उपलब्धी प्राप्ति हुदैन । आफुलाई जनताको प्यारो भन्नका लागी त जनताबाट निर्वाचित हुन पर्रो, जनताको माझमा जान डराउनी अनि सडकबाट ठूलो कुरा गरेर हुन्छ ? निर्वाचनमा जान डरायर हुन्छ भन्या । निर्वाचन त हुन्छ हुन्छ, जसरी भएपनि हुन्छ ।

अहिले प्रचण्ड–माधवतिर सँख्या कम हुदैँ गएको तपाईले देखिरहनु भएको छ । जसले जे भने पनि प्रधानमन्त्री केपी शर्मा ओली ‘राजनेता’ हो । नेपालको ईतिहासमा त्यस्तो प्रधानमन्त्री मलाई चिनाइदिनुहोस् जसले भारतको विरोध गरेको होस् । मलाई त्यो नेता वा प्रधानमन्त्री चिनाइदिनुहोस् जसले नेपालको नक्सामा परिर्वत गर्याे, नाकावन्दीको समयमा ओलीले लिएको त्यो अडानले ५ वर्षका लागी जनताले प्रधानमन्त्रीको रुपमा स्वीकारेका हुन् । यहाँ त दक्षिणी शक्तिको प्रभावमा परेर आफ्नै पार्टीका नेतालाई काम गर्न नदिने नेताहरुलाई नेपाली जनताले राम्ररी चिनिसकेकाछन् । त्यसकारण पनि निर्वाचनमा जान उनीहरु डराइरहेको हुन् ।

औपचारिकरुपमा नेकपा टुक्रिएको घोषणा मात्र हुन बाँकी छ यस्तोमा फेरि पार्टी एकता संभव छ र ॽ

-पछिल्लो देशको राजनीति, यसका घटनाक्रम र वर्तमान अवस्थालाई मध्यनजर गर्दै म प्रधानमन्त्री ओलीकै पक्षतिर छु । यसो भन्दै गर्दा अरु ब्यक्ति पनि ओली पक्षमै आउनुस् भन्दैन । यो त मनन गर्ने कुरा हो बुझ्ने कुरा हो । अहिले पहिलेको जस्तो राजनीति छै । समाज धेरै परिर्वतन भइसकेकोछ । ढोगी, झ्याली, स्वार्थी र लोभीहरुलाई आम जनताले सजिलै गरि चिनिसकेका छन् । यस्तो विषयम परिस्थितीमा म अझै पनि पार्टी फुटोस् भन्ने पक्षमा छैन । बहस र सम्बादका माध्यमले मिलन विन्दू खोजिनुपर्छ । त्यो नै राजनीतिक दल र आम नागरिकका लागि सहि कदम हो । केही बाध्यकारी अवस्थाका कारण पार्टी एकता भएपनि त्यो सहि हुनेछैन किनकी त्यसका लागि मन मिल्नुपर्छ । मन नमिलेमा पार्टी एकताको कुनै औचित्व देख्दिन ।