नापी कार्यालय गुलरियामा कित्ता काटको २० हजार रुपैयाँ, घुस नदिएसम्म काम अगाडी नबढ्ने


नापी कार्यालय गुलरियामा कित्ता काटको २० हजार रुपैयाँ, घुस नदिएसम्म काम अगाडी नबढ्ने

गुलरिया (बर्दिया) १३ वैशाख : सरकारले निर्धारण गरेको मूल्य ५० हजार रुपैयाँ, चलनचल्तीमा ६० देखि ८० हजारसम्म प्रति कठ्ठा पाइने जमिनलाई कित्ता काट गर्दा नापि कार्यालय बर्दियामा २० हजार रुपैयाँसम्म घुस खुवाउनु पर्ने बाध्यता पारिएको छ ।

ठाकुरबाबा नगरपालिका एक जेष्ठ नागरिकले एक कठ्ठा जमिन बेच्नका लागी करिब ४ महिनासम्म नापि कार्यालय बर्दियामा धाइरहेका थिए । तर, उनको विक्री हुने जग्गाको कित्ता काट नापी कार्यालयले सम्पूर्ण कागजात पुरा भए पनि नगरेका कारण जग्गा बेच्न पाएका थिएनन् । कारण थियो कित्ता काट गर्दा नापी अधिकृत पवन गुप्तालाई २० हजार बुझाउनु पर्ने थियो ।

आफुले उक्त रकम दिन नसक्ने बताएपछि उनको काम ४ महिनापछि धकेलिएको हो । जसोतसो गरेर बयाना बापत बुझेको रकमबाट २० हजार रुपैयाँ बुझाएर उनले जग्गा विक्री गर्न बाध्य भए । यो त नापी कार्यालय बर्दियामा देखिएको एक प्रतिनिधी घटना हो । त्यसो त कित्ता काट गर्नका लागी कुनै राजस्व लाग्दैन ।

नापी कार्यालय गुलरिया, बर्दियामा कित्ता काट पालिकाहरुले खोलेसगैँ कार्यालयका कर्मचारीलाई काम भन्दा पनि रकम थन्काइ नसक्नु भएको छ । भूमि सुधार तथा मालपोत कार्यालयबाट सिफारिस भई आएका कागजातहरु अध्ययन गरी कित्ता काटको प्रकृया अगाडि बढाउनु पर्नेमा तोकेरै रकम माग गर्ने कर्मचारीहरुले सेवाग्राहि तथा लेखनदासहरुबाट रकम बुझ्ने गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

नापी कार्यालय गुलरियामा कित्ता काटको लागी फाइल आएमा नापी अधिकृत पवन गुप्ताले उनका सहयोगीलाई फाइल दिने र उनीहरुबाटै ताकेरै रकम माग गर्ने गरेको पीडितहरुको भनाईछ । यसरी तोकेरै रकम माग गरेपछि नदिएको खण्डमा फाइल पेन्डिङ्गमा राख्ने गरेको सेवाग्राहीहरुले बताए ।

कित्ता काट खुलेसगैँ नापी अधिकृत गुप्ताले रकम असुल्नमा विशेष ध्यान दिएकाछन् । सेवाग्राहीले नाम र ठेगाना नछापिदिने शर्तमा सेतोखरीलाई भने–‘आफुहरुले कित्ता काटको लागी प्रमाणित गर्ने बेला १५ हजारदेखि माथि रकम बुझाएका छौं ।’ सेवाग्राहीको समस्याका विषयमा सम्बन्धित निकायले कुनै ध्यान नदिएको उनीहरुको गुनासो छ ।

नापी कार्यालय गुलरिया बर्दियाका प्रमुख किसन सिहं विष्टले यस्ता समस्या आफनो टेबुलमा नआएको प्रतिक्रिया दिए । सेवाग्राहीले यस्तो समस्या भयो भनेर आफुकहाँ नआएका कारण सो समस्यासंग आफू अनभिज्ञ रहेको उनको प्रतिक्रिया छ ।

नापी अधिकृत एंव सूचना अधिकारी समेत रहेका पवन गुप्ताले आफुले कुनै पनि सेवाग्राहीसँग कित्ता काट गरिदिएबापत रकम नलिएको दावि गरे । सेतोखरीसँग कुरा गर्दै उनले घुस नमागे र अन्य कर्र्मचारीले मागेको भए आफुलाई जानकारी नभएको भन्दै पन्छिए ।