नेपालगन्ज २३ माघ : नेकपा केपी ओली पक्षद्वारा आयोजित जनसभा लाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । उक्त सभालाई प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल रहने तय भएको छ ।
‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्दैछ ।
नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताएका छन् ।
सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।
मध्याह्न १२ बजेदेखि हुने सभा अघि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ । जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरु पनि सहभागी हुनेछन् ।
पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको कमिटीका अध्यक्ष पोखरेलले जानकारी दिए ।
सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ । सभा सम्पन्न गर्न जिल्ला, पालिका र वडास्तरीय परिचालन कमिटी गठन गरिएको छ ।
प्रदेश कमिटीले सभाको तयारीस्वरुप बुधबार काठमाडौँमा मोटरसाइकल र्याली समेत गरेको थियो । यसअघि प्रदेश कमिटीले सभाको तयारीस्वरुप बुधबार काठमाडौँमा १० हजार मोटरसाइकलको ¥याली र विहीबार पनि युवाहरुले प्रदर्शनी मार्गबाट मार्चपास ¥याली निकालेका थिए ।
यसैबीच, बृहत आमसभामा २ लाख मास्क वितरण गरिने भएको छ । जिफन्टका अध्यक्ष तथा मञ्च व्यवस्थापनका प्रमुख विनोद श्रेष्ठका अनुसार कम्तीमा १ लाख ५० हजार मानिसको उपस्थित हुने आंकलन गरी तयारी गरिएको छ ।
त्रि–चन्द्र क्याम्पसमा रक्तदान कार्यक्रमको आयोजना पनि गरिनेछ । त्यसैगरी ६ स्थानमा स्वास्थ्य टोली राखिएको छ, जहाँ उपस्थितलाई अप्ठयारो परेमा उपचार गरिनेछ । यस्तै विभिन्न स्थानमा गरी ६ वटा मोबाईल ट्वाईलेटको पनि व्यवस्था गरिएको छ ।
५ वटा डिजिटल डिस्प्ले
प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले नारायणहिटी गेट अगाडि बनाएको मञ्च डिजिटल डिस्प्लेयुक्त बनाएको छ । यसैगरी, केशरमहल खण्डका प्रदर्शनकारीका लागि पनि डिजिटल डिस्प्ले राखिएको छ भने जयनेपालसम्मका दर्शकले हेर्न पाउने गरी दक्षिण ढोकामा पनि राखिएको छ ।
यसैगरी, महेन्द्रको शालिक नजिक तथा नारायणहिटी गेटको ठीक अगाडिको व्यापारिक भवनमा पनि डिजिटल डिस्प्ले राखेर प्रदर्शनकारीलाई सुन्न र देख्न मिल्ने गरी सहज बनाईएको श्रेष्ठले जानकारी दिएका छन् । ठमेल, जयनेपाल हल, जमल र त्रिचन्द्र कलेजसम्म सुन्ने गरी माईकको व्यवस्था गरिएको छ ।
१६ ठाउँबाट जुलुस नारायणहिटी गेटमा पुग्ने
अपरान्ह १२ बजेदेखि सुरु हुने भनिएको बृहत आमभसाका लागि राजधानीका विभिन्न १६ स्थानबाट जुलुस पुग्ने गरी कार्यक्रम तालिका बनाईएको छ । गौशाला, माईतीघर, कुपन्डोल, लैनचौर, सोह्रखुट्टे, भृकुटीमण्डप, प्रदर्शनीमार्ग, रत्नपार्क, बागबजार, प्रदर्शनीमार्ग, एनएसीलगायत १६ स्थानबाट निस्केको जुलुस नारायणहिटी गेट अगाडि पुग्नेछन् ।
२५ सय स्वयंसेवक
आमसभालाई व्यवस्थित गर्न २५ सय भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ । महेश बस्नेतको नेतृत्वमा बिहीबार मार्च पासमा सहभागी भएका स्वयंसेवकले मञ्च, जुलुस, आमसभास्थलको सुरक्षा र सहजताका लागि काम गर्नेछन् ।
स्वयंसेवकले लगाउने रातो रंगको ज्याकेट र टोपीमा ओलीको तस्विर अंकित गरिएको छ ।
टि–आकारको मञ्च
नारायणहिटी गेटलाई पछाडि पारेर बनाईएको मञ्च टि आकारको रहेको छ । पश्चिम ठमेल, पूर्व जयनेपाल र दक्षिण त्रि–चन्द्रसम्मका दर्शकले हेर्न र सुन्ने गरी मञ्च बनाईएको छ ।
मञ्चको पश्चिम दिशामा स्थायी कमिटी सदस्य, केन्द्रिय सदस्य देखि सल्लाहकारसम्म बस्ने गरी कुर्सीको व्यवस्थापन गरिएको छ ।
ओलीसहित ४ जना मात्रै वक्ता
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार प्रमुख वक्ताको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली रहने छन् भने उपप्रधानमन्त्री ईश्वर पोखेरल, गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल रहने तय भएको छ ।
यसैगरी, कृष्णगोपाल श्रेष्ठले सभापतित्व गर्ने बृहत आमसभाको स्वागत मन्तव्य पार्वती रावलले गर्नेछिन् भने सञ्चालन बाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले गर्ने छन् ।
दरबारमार्गमा बिहानै सफाई
अपरान्ह १२ बजेवाट सुरु हुने भनिएको कार्यक्रमस्थलमा बिहानै सरसफाई गरिएको छ । पानीले पखालिएको सडकका बिचका ट्राफिक लाईटहरुमा प्रधानमन्त्री ओलीका तस्बिर झुण्ड्याईएको छ भने दायाँबाया पनि ओलीको समर्थनमा तस्बिरहरु राखिएको छ ।