बर्दिया २५ माघ : नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले पत्रकार महासंघलाई साझा चरित्रको संगठन बनाउन युनियनले सबैलाई समेट्ने बताएका छन् ।
बर्दियाको डल्लामा आज (आईतबार) आयोजित लुम्बिनी प्रदेश स्तरीय पे्रस युनियनका जिल्ला अध्यक्षहरुको बैठकलाई सम्बोधन गर्दैै उनले पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रमा युनियनले सबै संगठनलाई समेट्ने स्पष्ट पारेका हुन् ।
पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रमा युनियनले सक्षम ब्यक्तिलाई अगाडी सार्ने उनले जोड दिए । आफु काठमाडौं पुगेपछि पत्रकारका विभिन्न संगठनसँग बसेर छलफल गर्ने पनि जानकारी दिए ।
प्रेस युनियन लोकतन्त्रवादी पत्रकारको संगठन भएको स्मरण गराउँदै उनले मुलुकको राजनीतिक घटनाक्रमबाट लोकतन्त्र नै अप्ठ्यारो अवस्थामा परेको र पत्रकारिता क्षेत्र पनि अछुतो नरहेको बताए ।
कतिपय सञ्चार माध्यमले पत्रकारलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन नसकेको बताउँदै उनले पत्रकारलाई पारिश्रमिक उपलब्ध गराउन प्रेस युनियनले वकालत गर्दैै आएको स्मरण गराए । ‘प्रेस युनियन पत्रकारको पक्षमा सधैं दृढ रुपले प्रस्तुत हुन्छ,’ उनले भने ।
कोरोना भाईरस(कोभिड–१९) महामारीको बहानामा केही सञ्चार माध्यमले पत्रकारलाई कामबाट निस्काशन गर्ने, बेतलबी विदामा बस्न लगाउने काम गरेको भन्दै युनियनले त्यसको कडा रुपमा प्रतिवाद गर्ने बताए ।
‘विगतमा हामी पीडित पत्रकारको पक्षमा बोल्दै आएका छौं, अझैपनि हामी प्रतिवाद गर्न तयार छौं,’ सिग्देलले भने । जिल्लामा पत्रकार महासंघभित्र आफ्नो नेतृत्व ल्याउन युनियनका शाखाहरु अन्य संगठनलाई पनि समेटेर अगाडी बढ्नुपर्ने निर्देशन दिए ।
‘केन्द्रमा जस्तै प्रदेश र जिल्लामा युनियनका शाखाहरु सबै संगठनलाई समेटेर नेतृत्वदायी भुमिका खेल्नुपर्छ, तपाईहरु युनियनको जिल्लाको खम्बा हो, सोही प्रकारले नेतृत्वदायी भूमिका खेल्नुहोस्,’ उनले भने ।
सो क्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जयसिङ केसीले पत्रकार महासंघमा यसपटक युनियनले वर्चश्व कायम गर्नुपर्ने बताए ।
प्रेस युनियनको छुट्टै ईतिहास रहेको भन्दै सर्बसम्मत रुपमा महासंघको नेतृत्व चयन गर्न युनियनको केन्द्र र जिल्ला शाखाले विशेष पहल गर्नुपर्ने धारणा राखे ।
बैठकमा उपस्थित भएका जिल्ला अध्यक्षहरुले पनि आ–आफ्नो जिल्लाको अवस्थाबारे जानकारी गराएका थिए ।