पहिलोचरणमा लुम्बिनी प्रदेशसहित ४० जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

सात अर्ब रुपैयाँ सुनिश्चित : अर्थमन्त्री पौडेल


पहिलोचरणमा लुम्बिनी प्रदेशसहित ४० जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

नेपालगन्ज २७ माघ : सकारले आगामि वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरेको छ । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै आगामी निर्वाचनको ढाँचा तय गरेको हो । सरकारले पहिलो चरणमा वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

यस्तै दोस्रो चरणमा सुदूरपश्चिम, गण्डकी, बागमति र प्रदेश १ का ३७ जिल्लामा बैशाख २७ गते निर्वाचन गर्नेछ । प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।

त्यसपश्चात् संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा एक दर्जन बढी रिट निवेदन परेको थियो । उक्त रिटमाथि सर्वोच्चमा बहस भइरहेको छ । मुद्दामा सर्वोच्चको संवैधानिक ईजलासले टुंगो लगाएको भने छैन ।

Kanti Aarogya Hospital Nepalgunj

निर्वाचनका लागि सात अर्ब स्रोत सुनिस्चित

यसैबीच, सरकारले आगामि बैशाखका लागि घोषणा गरेको दुई चरणको निर्वाचनका लागि अर्थ मन्त्रालयले सात अर्ब रुपैयाँ बजेटको स्रोत सुनिस्चित गरेको छ ।

बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनका लागि स्रोत सुनिस्चित गरेको जानकारी दिए । ‘निर्वाचन आयोगले खर्चका लागि माग गरे अनुसार स्रोत सुनिस्चित गरिएको छ,’ मन्त्री पौडेलले भने । निर्वाचन खर्चको आकार निर्वाचन आयोगले बनाउँदै गरेको उनले जानकारी दिए ।

खर्च नहुने बजेटलाई कोभिड र निर्वाचनमा खर्च गर्न लागेको अर्थ सचिव शिशिर ढुंगानाले बताए । ‘अनुत्पादक खर्चलाई कटौती गरेर निर्वाचन र कोभिडका लागि प्रयोग गर्दैछौं,’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए । सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन् ।