नेपालगन्ज ३ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको भूमिकामामाथि शंका व्यक्त गर्दै अदालतको निर्णय पर्खिनु नहुने बताएकाछन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध सोमबार देशव्यापी विरोध प्रदर्शनका क्रममा नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको विरोध सभामा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले निर्वाचन घोषणा भएपछि पनि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया शुरु नगरेको भन्दै आयोगको भूमिकामा शंका गर्ने ठाउँ रहेको बताए ।
उनले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापना नगरे चुनाबमा जाने गरी काँग्रेस तयार रहेको बताउँदै ‘प्रधानमन्त्री ओलीले संसद विघटन गरेको ६ महिनाभित्र चुनाब गराइसक्नुपर्छ, चुनाब गराउने काममा ओलीलाई पटक–पटक भनिरहनु पर्छ ? प्रतिप्रश्न गर्दै सभापति देउवाले भने –‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भएको छ, चुनाबको कार्यक्रम अहिलेसम्म दिइसक्नुपर्ने हो, कार्यतालिका किन अघि बढाउँदैन ? अदालतको निर्णय पर्खिने काम हैन आयोगको, अदालतले प्रतिनिधिसभा पुनस्थापना ग¥यो भने स्थगित गरे भैहाल्यो नि ।’
सभापती देउवाले अगाडी भने –‘निर्वाचन आयोगले बदमासी गर्न सक्छ, अहिलेसम्म चुनाबको तालिका किन बाहिर निकाल्दैन ?’ उनले भने–‘चुनाब गराउने हो भने निर्वाचनको प्रक्रिया शुरु गर्नुप¥यो, जेठको अन्तिमसम्म चुनाब गराउनैपर्छ, निर्वाचन आयोगको काम यही हो ।’
निर्वाचन आयोग र नेकपाका अध्यक्षहरुप्रति कडारुपमा प्रस्तुत हुदैं उनले भने –‘नेकपाका अध्यक्षहरु केपी ओली र प्रचण्ड राजाभन्दा पनि बढी भइरहेको भन्दै अदालतलाई प्रभावित गर्न सडकमा प्रदर्शन गर्न थालेका छन् ।’
‘नेकपामा कुर्सीका लागि मारामार भयो, झगडा भयो, यो झगडामा हाम्रो हात छैन, देउवाले भने–‘सर्वोच्च अदालतमा मुद्धा छ, अदालतमा विचाराधीन भएको मुद्धामा पक्ष विपक्ष हुन्छ नै, तर अदालतको विरोधमा कसले कति ठूलो जुलुस गर्ने भनेर प्रतिस्पर्धा गर्ने, त्यो हेरेर अदालतले निर्णय गर्छ ? अदालतलाई हामी विश्वास गरौं, संसद पुनस्थापना गरे पनि ठीक छ, चुनाब गराउनेछ भने पनि ठीक छ ।’
उनले अदालतलाई यो गर, ऊ गर भन्न नमिल्ने बताउँदै अदालतप्रति विश्वास गर्नुपर्ने बताए । ‘अदालतको निर्णय पर्खिउँ, त्यसपछाडि निर्णय गरौंला, हाम्रो पार्टीमा पनि कसले के भन्छ ?, कसले के भन्छ, हाम्रो पार्टी स्वतन्त्र न्यायपालिका मान्ने पार्टी हो, न्यायालयले निष्पक्ष न्याय दिन्छ भन्ने विश्वास छ,–उनले अगाडी थपे–अहिले मुलुकमाथि समस्या आएको छ, त्यसकारण पनि हामीमाथि ठूलो जिम्मेवारी आएको छ, प्रजातन्त्र, लोकतन्त्रको रक्षाका लागि काँग्रेसले नेतृत्व गर्छ ।’
यस्तै विरोध सभामा काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले कम्युनिष्ट नांगिएको र कम्युनिष्टका रुने दिन शुरु भएको बताएका छन् । ‘यतिन्जेल केपी ओली सरकार र कम्युनिष्टले जनतालाई रुवाए, खाणले जनताका रुने दिन सकिएको बताउँदै अब कम्युनिष्ट र केपी ओलीका रुने दिन शुरु भएको स्पष्ट पारे ।
केन्द्रिय नेता खाणले प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा विधेयक, मिडिया विधेयकजस्ता विवादास्पद विधेयकहरु ल्याएर मुलुकलाई आफ्नो तजबीजमा चलाउने प्रयास गरेको समेत बताए ।
बुटवलमा भउको काँग्रेसको विरोधसभामा नेताहरु भरतकुमार शाह, अब्दुल रज्जाक, प्रमोद यादव, रमा अर्याल, रामकृष्ण खाँण, मुक्ति पौडेल लगायतका नेताले प्रधानमन्त्रीको असंवैधानिक कदमको खुलेर विरोध गर्न र गाउँटोलसम्म भण्डाफोर गर्न कार्यकर्ताहरुलाई आह्वान गरे ।
यसैबीच, नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले बैशाखमा चुनाव नभए केपी ओलीलाई ठेगान लगाउने बताएकाछन् ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाँकेको आयोजनामा सोमबार नेपालगन्जमा भएको विरोध सभामा सम्बोधन गर्दै नेता थानीले यस्तो बताएका हुन् ।
उनले नेकपा नेतृत्वको सरकारले दुई तिहाईको दम्भ देखाएर गरेको भ्रष्टाचारमा काँग्रेस चुप लागेर नबस्ने बताए ।
बाँकेको सभालाई सम्बोधन गर्न नेपालगन्ज आइपुगेका नेता थानीले सर्वोच्च अदालतमा विचाराधिन रहेको संसद विघटनको विषयमा अदालतबाट हुने स्वतन्त्रण फैसलामा काँग्रेस विश्वस्थ रहेको बताए ।
संविधानमा नभएको अधिकार प्रयोग गरेका प्रधानमन्त्री ओलीलको भनाईमा तालमेल नमिलेको भन्दै प्रधानमन्त्रीले जनतालाई ढाँटेको समेत आरोप लगाए । नेता थानीले –‘प्रधानमन्त्रीले काम गर्न नदिएको पनि भन्छन्, अनि थुप्रै राम्रो काम गरेको समेत भन्छन् यहीबाट पुष्टि हुन्छ ।
नेपाली काँगे्रस पार्टी कार्यालयबाट निकालिएको विरोध ¥यालीपश्चात भएको सभालाई काँग्रेस बाँकेकी सभापति किरण कोइराला, पूर्व सभापति युवराज शर्मा, क्षेत्रीय सभापति नक्खी खाँ लगायतका नेताले संसद विघटनको चर्को विरोध गरेका थिए ।
संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको काँग्रेसले चरणबद्ध विरोध प्रर्दशन गर्दै आएको छ । यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ मा विरोध प्रदर्शन गरिएको थियो ।