नेपालगन्जका मेयर राणा भन्छन् ‘हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाका लागि कडा अन्दोलन हुन्छ’


नेपालगन्जका मेयर राणा भन्छन् ‘हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाका लागि कडा अन्दोलन हुन्छ’

नेपालगन्ज ४ फागुन : नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणाले हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाका लागि कडा आन्दोलन गर्ने बताएका छन् ।नेपालगन्जमा मङ्गलबार हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको माग भएको र्‍यालीमा उनले यस्तो बताएका हुन् ।

र्‍याली पश्चात त्रिभुवना चोकमा भएको कोण सभालाई सम्बोधन गर्दै मेयर राणाले राजसंस्था र हिन्दु राष्ट्रको पुर्नस्थापना नहुँदासम्म चैनको निन्द्रा नसुत्ने समेत उद्घोष गरे ।
उनले हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाका लागि देशभर जनलहर आएको भन्दै यो जनलहरलाई कसैले रोकेर रोक्न नसक्ने बताए । उनले देशको वर्तमान राजनीतिक अवस्थामाथि टिप्पणी गर्दै भने–‘राष्ट्र, राष्ट्रियता र स्वाभिमानमाथि प्रहार भइरहेकोछ । जनतामा निराशा छाएको छ । यस्तो बेला निकास दिने शक्ति भनेकै राजसंस्था हो । आम नागरिकलाई यसको महत्व अनुभव भइसकेकोछ ।’

मेयर राणाले हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाका लागि यो भन्दा कडा आन्दोलन गर्ने भन्दै त्यसका लागि तयार रहन हिन्दुवादीहरुलाई आग्रह समेत गरे ।

यस्तै उक्त कोण सभामा शिव सेना नेपालका अनिल बस्नेत र राजकुमार रौनियारले संघीयताको खारेजी गर्दै राजसंस्था र हिन्दु राष्ट्रको पुर्नस्थापनाको विकल्प नरहेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनीहरुले देशमा बढेको भ्रष्टाचार, बेथिती, अपराध तथा धार्ममाथिको निरन्तर प्रहारले देशको सामाजिक सद्भाव विर्गदै गएकोछ । राजनीतिक दलका निहीत स्वार्थका कारण यी सब भएकाले यसबाट छुटकारा पाउन देशलाई हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापना आवश्यक रहेको बताए । उनीहरुले यसका लागि देशभक्त सच्चा राष्ट्रवादीहरु जागिसकेको बताउँदै कुनैपनि मूल्य चुकाउन आफूहरु तयार रहेको बताए ।

राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्ने दल तथा संघ संस्थाको संयुक्त आयोजनामा ‘धर्म साझा, देश साझा, राजा साझा’ भन्ने मूल नाराका साथ नेपालगन्जमा मङ्गलबार मोटरसाइकल र कार ¥याली निकालिएको थियो ।

राष्ट्रिय झण्डासहित ठूलो संख्यामा उपस्थित र्‍याली बागेश्वरी मन्दिरबाट शुरु भएइ नेपालगन्ज बजार परिक्रमापछि त्रिभुवनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।