साताको दुई दिन नेपालगन्ज–पोखरा उडान भर्दै सीता एयर

४० मिनेटमा नेपालगन्जदेखि पोखरा पुग्यो नाट्टा टोली


साताको दुई दिन नेपालगन्ज–पोखरा उडान भर्दै सीता एयर

नेपालगन्ज ७ फागुन : निजीक्षेत्रको पहलमा शुक्रबार नेपालगन्जदेखि पोखरा विमान सेवा शुरु गरिएकोछ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँके र नाट्टा गण्डकी प्रदेशको पहलमा सीता एयरको १८ सिटे विमानबाट चार्टर उडान शुरु भएको हो ।

शुक्रबार दिउँसो १ बजे नेपालगन्ज विमानस्थलबाट पोखराका लागि सीता एयरको विमानले पहिलो पटक उडान भरेको थियो । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डाक्टर धवल शम्शेर राणाको नेतृत्वमा बाँके र बर्दियाका १८ जना पर्यटन व्यवसायी पोखरा पुगेका थिए ।

नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलका अनुसार चार्टर विमानले हरेक हप्ताको शुक्रबार र आईतबार नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्जको विमान उडान हुनेछ ।
‘एक महिनाका लागि १६ वटा विमान उडानका लागि नाट्टाले सीता एयरसँग सम्झौता गरिसकेको छ’, अध्यक्ष सिग्देलले भने, ‘वर्षौदेखि नेपालगन्ज–पोखरा उडानका लागि बहस, छलफल र माग भए पनि राज्यले बेवास्ता गरेकाले व्यवसायीका तर्फबाट उडान सेवा सुरु गरेका हौं । यो सरकार र सरोकारवाला निकायलाई दवाब दिने अभियान पनि हो । भारतीय सीमा नाका खुला मात्र हुने हो भने नियमित रुपमा यो रुटमा उडान भर्न कुनै समस्या हुँदैन ।’

नाट्टा बाँके च्याप्टर अध्यक्ष सिग्देलका अनुसार परीक्षणका लागि पहिलो महिना हप्तामा दुई वटा गरी ८ उडान नेपालगन्जबाट पोखरा जाने र ८ उडान उता (पोखरा) बाट नेपालगन्ज आउने व्यवस्था गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर राणाले वर्षौदेखि उडानको विषयमा चर्चा भए पनि पहिलो पटक विमान सेवा सुरु हुनुलाई ऐतिहासिक क्षण भएको बताए ।
‘पोखरा घुम्न चाहने स्वदेशी र भारतीय पर्यटकका लागि सस्तोे र छोटो रुट भएको छ । यसबाट बाँके र बर्दियाका पर्यटकीय क्षेत्रहरुको विकासमा पनि मद्दत पुग्नेछ’, मेयर राणाले भने, ‘क्यासिनो सिटीका रुपमा विकास भइरहेको नेपालगन्ज क्षेत्रका लागि नेपालगन्ज पोखरा रुटबाट पर्यटन प्रबद्र्धनमा मद्दत मिल्नेछ ।’ उनले यसपछि नेपालगन्ज–दिल्ली उडानका लागि पहल गरिने बताए ।

कार्यक्रममा पर्यटन प्रबद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगन्ज पोखरा उडानले कोरोना महामारीले मारमा परेको पर्यटन क्षेत्रलाई माथि उकास्न मद्दत मिल्ने दाबी गरेका छन् ।

नेपालगन्जदेखि पोखरा पुगेको नाट्टा टोलीलाई स्वागतपछि सामुहिक तस्विर खिचाउदै ।

उनले भने, ‘यो उडान पर्यटन प्रवद्र्धन गर्न कोसेढुंगा साबित हुनेछ । बाँके र बर्दियामा आन्तरिक पर्यटन प्रबद्र्धन गर्न संघीय सरकारले नेपालगन्ज पोखरा रुटमा नियमित उडान सेवा सुरु गर्नुपर्छ ।’

नेपालगन्जबाट उडान भरेको उक्त विमान ४० मिनेटमा सकुसल पोखरा विमान स्थलमा ल्याण्ड गरेको थियो । नेपालगन्जबाट गएको विमानमा सवार बाँके र बर्दियाका १८ सदस्यीय पर्यटन व्यवसायीलाई पोखरा महानगरपालिका प्रमुख मानबहादुर विसीको नेतृत्वमा नाट्टा गण्डकी प्रदेशको टोलीले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।
पर्यटन व्यवसायीले पोखरामा पत्रकार सम्मेलन गरी नेपालगन्ज–पोखरा विमान सेवाले भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन सहज हुने बताएका छन् ।

नाट्टाले एकतर्फी भाडा ४ हजार नौ सय ९५ रुपैयाँ तोकेको छ । पर्यटन व्यवसायीले पर्यटकका लागि सहुलियत दरको ३ दिने प्याकेजको व्यवस्था समेत गरेका छन् ।
पर्यटन क्षेत्रको विकासका लागि नेपालगन्ज पोखरा उडान निकै फलदायी हुनेछ । लामो समयदेखि बाँकेका पर्यटन व्यवसायीले नेपाल सरकारसँग नेपालगन्ज–पोखरा सोझो उडानको व्यवस्था गर्न दवाब दिँदै आएका छन् । शुक्रबार नेपालगन्जदेखि पोखरा र पोखरादेखि नेपालगन्ज आएको विमानले सरकारलाई दवाव दिएकोछ ।