सुरक्षा घेरामा नौबस्ता औधोगिक क्षेत्र शिलान्यास


सुरक्षा घेरामा नौबस्ता औधोगिक क्षेत्र शिलान्यास

नौवस्ता १२ फागुन : बाँकेको बैजनाथ गाउँपालिका स्थित ‘नौवस्ता औद्योगिक क्षेत्र’ को सुरक्षा घेरामा शिलान्यास गरिएको छ । लामो समयदेखी चल्दै आएको विवाद टुंगो नलगाएरै सरकारले शिलान्यास गर्न खोज्दा विवाद भएपछि सुरक्षा घेरामा शिलान्यास गरिएको हो ।

औद्योगिक क्षेत्र निर्माण परियोजनाभित्र पर्ने स्थानीय बासिन्दाले उठाउँदै आएको मागलाई सरकारले सम्बोधन नगर्दा स्थानीयको चर्को बिरोधका बीच मंगलबार उद्योग मन्त्री लेखराज भट्ट र औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले औपचारिक रुपमा शिलान्यास गरे ।

परियोजनाभित्र पर्ने मानव बस्तीको ब्यवस्थापन नगरेर एकैपटक शिलान्यास गरेको भन्दै स्थानीय बासिन्दा असन्तुष्ट छन् । असन्तुष्ट स्थानीय बासिन्दाले सरकारविरुद्ध चर्का नाराबाजी गर्दै शिलान्यास कार्यक्रम स्थलमै प्रर्दशन गरेका हुन् । सो क्रममा स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था कडा पारेको थियो ।

सरकारले २०७२ चैत १ गते नौवस्तामा ‘प्रदेश स्तरको’ ठुलो औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो । औद्योगिक क्षेत्र निर्माण गर्न बैजनाथ गाउँपालिका अन्तर्गत पर्ने नौवस्ता गाउँमा ३ सय ३८ विघा जग्गा अधिग्रहण गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

तत्कालिन समयमा पाँच वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएपनि त्यसको पाँच वर्षपछि मंगलबार मात्र शिलान्यास भएको हो । औद्योगिक क्षेत्र निर्माणका लागि कुल ८ अर्व ७ करोड खर्च लाग्ने तत्कालिन सरकारको अनुमान थियो । औद्योगिक क्षेत्रबाट २० हजार भन्दाबढी ब्यक्तिले रोजगारी पाउने सरकारको अनुमान छ ।

स्थानीयका अनुसार औद्योगिक क्षेत्र निर्माण परियोजनाभित्र २ सय ५९ घरधुरी बसोबास गर्दै आएका छन् । उक्त क्षेत्रमा रहेको सरकारी जग्गालाई सशस्त्र प्रहरी बल साविक मध्यपश्चिमाञ्चल तालिम केन्द्र नौवस्ताले लामो समयदेखी संरक्षण गर्दै आएको छ । त्यस बाहेकको जमिनमा सरकारले नौवस्ता औद्योगिक क्षेत्र स्थापना गर्दैछ ।

कम्पनीका अनुसार उक्त क्षेत्रमा ८ कठ्ठादेखी ४० कठ्ठा सम्मको प्लट छुट्याइएको छ । सोही क्षेत्रमा औद्योगिक, आवास, प्रशासन, सेवा, भन्सार, ईन्धन पम्प, दुषित पानी प्रशोधन प्लान्ट, हेभी ट्रक पार्किङ लगायतका प्लट छुट्याइएको छ । बिस्तृत अध्ययन प्रतिवेदन अनुसार औद्योगिक क्षेत्रभित्र पेन्ट्स, खाद्य, प्लाष्टिक, केवल, स्टिल, सावुन, पाइप, काठ, पानी लगायतका सम्भावित उद्योग स्थापना गर्ने सरकारको योजना छ ।

औद्योगिक क्षेत्रभित्र चारलेनको मुख्य र दुई लेनको सहायक सडक, साइकल लेन, सडकको दुबैतर्फ २.५ मिटरको पैदल यात्रु लेन तथा वर्षा र ढल पानीको उचित व्यवस्थापनका लागि निकासको छुट्टै नालाको व्यवस्था गरिने औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडले जनाएको छ ।

औद्योगिक क्षेत्रभित्र २४ सैं घण्टा पानी आपुर्ती, ओभरहेड अन्डरग्राउण्ड ट्यांकी, फोहोर पानी प्रशोधन केन्द्र, ८ फिट अग्लो सिमाना पर्खाल निर्माण गर्ने विस्तृत प्रतिवेदनमा उल्लेख छ । यसैगरी सुरक्षाको लागि करिव २ सय जना सशस्त्र प्रहरी बल बस्ने व्यवस्थाका साथै ४० मेगावाट बिद्युतको छुट्टै फिडर, उद्योग संघ, बैंक, शिशु स्याहार, एटिएमको सुविधा, डिस्प्ले सेन्टर, स्वास्थ्य क्लिनिक पनि राखिने जनाइएको छ ।

औद्योगिक क्षेत्र र मानव बस्ती बीचको करिव ३० मिटर क्षेत्रमा बृक्षारोपन गर्नका लागि ‘बफरजोन’ छुट्याइएको छ । औद्योगिक क्षेत्रभित्रै एकिकृत भन्सार चेक पोष्टख पनि ब्यवस्था गरिने कम्पनीले जनाएको छ । औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना गर्न चाहने उद्योगीका लागि चाडै नै आवेदन माग गरिने औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडले जनाएको छ ।

नौवस्ता औद्योगिक क्षेत्र स्थापना भएपछि बाँके जिल्ला लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशकै आर्थिक राजधानी बन्ने र यहाँको उद्योग, ब्यवसाय फस्टाउने उद्योगी, ब्यवसायीको अपेक्षा छ ।