देउवालाई भेट्न चितवनको आमसभा छाडेर काठमाण्डौं फर्के प्रचण्ड र नेपाल


देउवालाई भेट्न चितवनको आमसभा छाडेर काठमाण्डौं फर्के प्रचण्ड र नेपाल

नेपालगन्ज १२ फागुन : प्रतिनिधिसभा विघटनको कदम बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिबारे नेकपा प्रचण्ड–माधव पक्ष र नेपाली काँग्रेसको शीर्ष नेतृत्वबीच आज छलफल हुँदैछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदैछ ।

भेटमा प्रतिनिधिसभा विघटनको कदम बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल हुनेछ ।

बुधबार अपरान्ह उनीहरुबीच भेटवार्ता तय भएको हो । संसद पुनःस्थापनापछि अब कसरी अगाडि बढ्ने भन्नेबारे उनीहरुबीच टेलिफोन संवाद भइसकेको भए पनि आज भेटेरै छलफल भई नयाँ रणनीति बन्नेछ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपाल चितवनमा आयोजित आमसभालाई सम्बोधन नगरी काठमाडौँ फर्केका हुन् ।

उनीहरु बुधबार बिहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं फर्केका हुन् । बुधबार आयोजित सभालाई सम्बोधन गर्नका लागि अध्यक्षद्वय मंगलबार दिउँसो चितवन पुगेका थिए ।

नेकपाले प्रतिनिधि सभा विघटनविरुद्ध पूर्वनिधारित विरोधसभालाई बुधबार पुर्नस्थापना भएसँगै विजय सभामा बनाउने निर्णय गरेको थियो ।

नेकपाले बुधबार दिउँसो ४ बजे संसदीय दलको बैठक समेत आह्वान गरेको छ । त्यसअघि प्रचण्ड–नेपालले केही राजनीतिक भेटघाट समेत गर्ने बताइएको छ ।