पहिलोपटक ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने


पहिलोपटक ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

नेपालगन्ज २० फागुन : सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो ।

सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्तरुपमा हस्ताक्षर गरी प्रेस नोट जारी समेत गरेका छन् ।

सरकार र विप्लव समूहबीच भएको सहमतिपछि विप्लव समूह शान्तिप्रक्रियामा अघि बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एक कार्यक्रमकाबीच संयुक्त सम्बोधन गर्ने भएका छन् ।

‘सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिनेछ । उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उक्त पार्टीका महासचिव कमरेड विप्लवले सम्बोधन गर्नुहुनेछ,’ वार्ता समितिका संयोजकद्वय रामबहादुर थापा बादल र प्रकाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Kids Festival 2022
kanti aarogya hospital

प्रेस नोटका अनुसार भोलि(शुक्रबार) दिउँसो २ बजे विशेष समारोहका बीच सहमतिको विस्तृत विवरण सार्वजनिक गरिदैछ ।

यसअघि बुधबार एकैदिन दुई चरणमा सरकार र विप्लव समूहबीच वार्ता भएको थियो । पहिलो चरणको वार्तामा सरकारले विप्लवलाई शान्तिपूर्ण बाटोमा आउन वातावरण निर्माण गरेपछि हिजो नै दिउँसो बसेको दोस्रो चरणको वार्तामा विप्लव समूह र सरकारबीच औपचारिकरुपमा दुवैले आ–आफ्ना एजेण्डामाथि वार्ता गरेका थिए ।

भूमिगतरुपमा राज्यपक्षसंग लडाई गरिरहेको विप्लव समूह सरकारसंग वार्ता गरि आफ्नो अस्तित्व कायम राख्न खोजेपछि सहमतिको वातावरण बनेको हो ।

सरकार र विप्लव समूहबीचको वार्ताका विषयलाई लिएर देशभर विभिन्न टिकाटिप्पणी भइरहेका बेला यस्तो सहमतिले देशलाई शान्तिको मार्गमा अघि बढाउन दुवै पक्षले खेलेको भुमिकाको यतिबेला सर्वत्र चर्चा चलिरहेकोछ ।