नेपालगन्ज २१ फागुन : भूमिगतरुपमा सरकारसंग आन्दोलनर नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिलो पटक सार्वजनिक भएकाछन् ।
सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति भएपछि पछिल्लो तीनवर्षदेखि भूमिगतरुपमा रही आन्दोलनरत विप्लव पहिलो पटक सार्वजनिक भएका हुन् ।सरकारसँग सहमति भएपछि सरकारले बिहीबार नै विप्लवको प्रतिबन्ध फुकुवा गरिएकोछ ।
आज काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सम्बोधन गर्न नवलपरासीबाट उनी प्रस्थान गरेको तस्बिर सार्वजनिक भएपछि यतिबेला उनलाई लिएर विभिन्न अडकलबाजी समेत हुन थालेकोछ ।
नवलपरासीमा शहिदका परिवारसँग भेटघाट गरेर उनी काठमाडौं प्रस्थान गरेको जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए ।
‘सरकार र विद्रोही नेकपाबीच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ,’ डुम्रेले शुक्रबार बिहान तस्बिर सार्वजनिक गर्दै भनेका छन्, ‘महासचिव विप्लवले नवलपुरमा शहिदका परिवार भेटघाट गरी भर्खरै काठमाडौ प्रस्थान गर्दै हुनुहुन्छ ।’
डुम्रेका अनुसार शहिद–सप्ताहको अन्तिम दिन नवलपुरस्थित शहिद फूलमाया सारू ‘रमा’ को परिवारलाई महासचिव विप्लवले भेटघाट गरेका हुन् । उनका अनुसार ‘फूलमाया सारू २०५९ जेठ १९ गते गुल्मीको वामिटक्सारस्थित प्रहरी चौकीको कारबाहीमा परी शहिद भएकी थिइन ।’
विभिन्न चरणको वार्तापछि बिहीबार बिहान सरकार र आफ्नो पार्टीबीच तीनबुँदे सहमति भएपछि भूमिगत विप्लव आज काठमाडौंमा आयोजना हुने संयुक्त सभामा सहभागी हुन आउँदै गरेका हुन् ।
सरकारले उनलाई लिन हेलिकप्टर पठाउने तयारी गरेको तर, जनतामा गलत सन्देश जाने भन्दै विप्लव गाडीमार्फत नै काठमाण्डौ लागेका छन् । स्थलगत यात्रामा रहेका विप्लवलाई यतिबेला नेपाल प्रहरीले कडा सुरक्षा निगरानीका साथ स्कटिङ्ग गरि गन्तब्यमा पु¥याउन सहयोग गरिरहेकोछ ।
सभामा प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ । साथै आज सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने हिजो बिहीबार दुवै पक्षका वार्ता टोलीद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रम आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुनेछ ।