काँग्रेसको केन्द्रिय सभापतिमा मेरो उम्मेदवारी हुन्छः काँग्रेस केन्द्रिय सदस्य गुरुङ


काँग्रेसको केन्द्रिय सभापतिमा मेरो उम्मेदवारी हुन्छः काँग्रेस केन्द्रिय सदस्य गुरुङ

नेपालगन्ज २१ फागुन : नेपाली काँग्रेसका केन्द्रिय सदस्य कल्याण कुमार गुरुङले १४ औं महाधिवेशनमा आफू सभापति पदमा लड्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले आज विहान नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा गुरुङले आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् ।

उमेरले भन्दा पनि विचार र एजेण्डाले नेतृत्व क्षमताको मूल्यांकन हुने भन्दै आफूले कुनै पनि हालतमा सभापतिमा उम्मेदवारी दिने दृढता उनले व्यक्त गरे । नेपालगन्ज महाधिवेशनबाट आफू नेविसंघ अध्यक्ष भएको स्मरण गर्दै गुरुङले आफ्ना लागि शुभभूमी रहेको नेपालगनजबाटै सभापतिमा लड्ने घोषणा गरेका हुन् ।

नेपाली का“ग्रेस सरकारको नेतृत्व गर्ने अवस्था आए नभाग्ने स्पष्ट पार्दै उनले काँग्रेसको समर्थन विना सरकार नै नबन्ने अवस्था रहेकाले काँग्रेसले संसद्मा उचित भूमिका खेलेर सरकार निर्माण प्रक्रियामा भाग लिने बताए ।

नेकपाका दुबै पक्षसंग सरकार गठनका लागि ढोका खुल्ला रहने स्पष्ट गर्दै केन्द्रिय सदस्य गुरुङले ओली समूह वा प्रचण्ड–माधव समूहसंग मिलेर सरकार बनाउन सक्ने अवस्था रहेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनले नेपाली काँग्रेसलाई बहुमत दिलाएर देशको ठूलो पार्टी बनाउने आवाज उठिरहेको बताउँदै अबको नेतृत्व युवा पुस्ताले लिनुपर्ने धारणा राखे । नेपाली काँग्रेसकालागि यतिबेला दुई वटा मुख्य काम अघि आएको छ त्यो काँग्रेसको अधिवेशन र संविधान जोगाउनु नै हो उनले भने ।

काँग्रेस सरकारमा जान कोसंग सहकार्य गर्छ ? सकारको नेतृत्व काँग्रेस सभापतिले नै गर्ने हो त ? भन्ने पत्रकारले सोधेको प्रश्नमा काँग्रेस केन्द्रिय सदस्य गुरुङ्गले भने–‘संसदिय दलका नेता र पार्टी सभापति शेरबहादुर देउवा नै भएकाले यो विषयमा उहाँले बुझ्नुपर्ने हो । को संग सहकार्य गर्ने भन्ने विषयमा केन्द्रिय समितिले निर्णय गर्छ ।’ उनले भने–‘विकल्प खुला छ । संसदभित्रको विवादका लागि ढोका खुला राखेर छलफल गरिरहेकाछौं छिटै निष्कर्शमा पुग्छौं ।’

क्रियाशील सदस्य छानविन समितिका सदस्य समेत रहेका गुरुङले क्रियाशील सदस्यता टुंग्याउने काम अघि बढेको बताए । उनले १० लाख क्रियाशील सदस्यमा २ लाख ३२ हजार ९ सय ७४ इन्ट्री भइसकेको जानकारी दिँदै उनले ४९ जिल्लाबाट इन्ट्रीका काम भइरहेको समेत बताए । देशभरबाट एक लाख एक हजार ८२ जनाले नयाँ क्रियाशीलता सदस्यता भरेको समेत जानकारी दिए ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा पत्रकार सम्मेलन भएको थियो ।