प्रधानमन्त्रीसंगै सम्बोधन गर्न काठमाण्डौं पुगे विप्लव


प्रधानमन्त्रीसंगै सम्बोधन गर्न काठमाण्डौं पुगे विप्लव

नेपालगन्ज २१ फागुन : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौं पुगेका छन् । समाचार तयार गर्दासम्म उनी नागढुंगाबाट काठमाडौं प्रवेश गरेका हुन् ।

आफ्नो समूहमाथिको प्रतिबन्ध फुकुवा भएपछि शुक्रवार विहान उनी पूर्वी नवलपरासीको देवचुलीमा सार्वजनिक भएका थिए । शुक्रवार दिउँसो राष्ट्रिय सभामा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्दैछन् ।

सम्वोधन अघि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग उनले भेटवार्ता गर्नेछन् । काठमाण्डौं पुगको विप्लव सिधै बालुवाटारमा प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छ त्यसपछि उनी कार्यक्रम स्थल जानेछन् ।

प्रधानमन्त्री र विप्लवको बिचमा संयुक्त समारोहलाई सम्बोधन गरिने विषयमा साझा धारणा तय गर्नेबारे छलफल हुने बताइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएपछि उनी शुक्रबार सार्वजनिक भएका थिए । सार्वजनिक भएलगत्तै उनी स्थलगत मार्ग हुदैं प्रहरीको कडा सुरक्षाको स्कटिङ्गमा काठमाण्डौं पुगेका हुन् ।

दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो । सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्तरुपमा हस्ताक्षर गरी प्रेस नोट जारी समेत गरेका छन् ।

सरकार र विप्लव समूहबीच भएको सहमतिपछि विप्लव समूह शान्तिप्रक्रियामा अघि बढेकोछ । भूमिगतरुपमा राज्यपक्षसंग लडाई गरिरहेको विप्लव समूह सरकारसंग वार्ता गरि आफ्नो अस्तित्व कायम राख्न खोजेपछि सहमतिको वातावरण बनेको हो ।

सरकार र विप्लव समूहबीचको वार्ताका विषयलाई लिएर देशभर विभिन्न टिकाटिप्पणी भइरहेका बेला यस्तो सहमतिले देशलाई शान्तिको मार्गमा अघि बढाउन दुवै पक्षले खेलेको भुमिकाको यतिबेला सर्वत्र चर्चा चलिरहेकोछ ।