काठमाडौं २३ फागुन : आगामी तीनदिनका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएकोछ ।
आईतबार बोलाइएको बैठक नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले अबरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति तोकेको हो ।
सर्वोच्चले संसद विघटनविरुद्धको मुद्दा बदर गर्दै पुर्नस्थापित गरेपछि पहिलोपटक आईतबार बसेको संसद बैठकमा नेकपाको प्रचण्ड माधव समूहले बहिस्कार गर्नुका साथै नेपाली काँग्रेस र जसपाले नाराबाजी गर्दै अवरुद्ध गरेका थिए ।
यही नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरे र त्यसपछि सूचना टाँस गरेर फागुन २६ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । योसंगै प्रतिनिधिसभाको बैठक यही फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
यसबीच संसद सचिवालयले आईतबारको बैठकको कार्यसूचीमा संसद नभएका बेला सरकारले ल्याएका अध्यादेश पेश गर्ने विषय र वर्तमान र पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव गर्ने विषय उल्लेख गरेको थियो ।
प्रचण्ड माधव समूहका सांसद भीम रावलले शोक प्रस्ताव पारित हुने दिन अन्य विषय कार्यसूचीमा राख्न नहुने बताएका थिए । तर, सभामुख सापकोटाले अध्यादेशहरु संसद बैठक बसेकै दिन पेश गर्नुपर्ने कानूनी प्रावधान रहेको भनी बचाउ गरे । त्यसपछि प्रचण्ड माधव समूहका सांसदले प्रतिनिधिसभा बैठकस्थल छाडेका थिए ।
त्यसपछि नेपाली काँग्रेसका सांसदहरुले पनि उठेर विरोध जनाए । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुसालले सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक परिषदको मर्ममाथि प्रहार गरेको भन्दै उक्त अध्यादेश पेश गर्न नदिने अडान लियो ।
सभामुख सापकोटाले काँग्रेसका विरोधका बाबजुद कानून न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई संवैधानिक अध्यादेशसम्बन्धी विधेयक पेश गर्न अनुमति दिएपछि काँग्रेस र जनता समाजवादी पार्टीका सांसदले रोस्टममा नाराबाजी गरेका थिए ।