नेपालगन्ज १ चैत : नेकपा माओबादीले पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिस्ट पार्टी राख्ने भएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टीको नाम यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखिएको थियो । तर, गत फागुन २३ गते सर्वोच्च अदालतले दुई पार्टीबीचको एकतालाई अस्वीकार गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि नेकपा माओबादी केन्द्रले नाम परिर्वतन गरेर नेपाली कम्युनिष्ट पार्टी राख्ने भएको हो ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने एजेण्डा राख्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम फेर्ने प्रस्ताव गरेका हुन् ।
माओवादी केन्द्र पुनर्स्थापित भएपछि आईतबार मध्यान्हदेखि पार्टी केन्द्रीय कार्यालयमा पहिलो पटक केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव राखिएसँगै पार्टी एकताको एजेण्डा पनि बैठक राखिएकोछ ।
बुधबार र बिहीबार बसेको पार्टी स्थायी समिति बैठकमा नाम परिवर्तन गर्ने विषयमा सहमति जुटेको र सोही नाम आजको केन्द्रीय समिति बैठकमा पेस गरिएको हो ।
केन्द्रीय समितिमा आवश्यक छलफलपछि आजै पार्टीको नाम परिवर्तन गर्ने निर्णय हुनसक्ने बैठकमा सहभागि नेताहरुले बताएका छन् ।
माओवादीले अन्य पार्टीबाट आफ्नो पार्टीमा आउनेहरुलाई सहज हुनेगरी दलको नाम परिवर्तन गर्न लागेको हो ।
बैठकमा वर्तमान राजनीतिक स्थितिबारे केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जहरुले धारणा राख्ने पनि एजेण्डामा उल्लेख छ । संगठनात्मक काम, पार्टी विधान र पार्टी अनुशासनसम्बन्धी विषय पनि एजेण्डामा छ । यो बैठकले कार्यकर्ता भेलाबारे पनि निर्णय गर्ने भएको छ । तर, सोमबारका लागि तय भएको राष्ट्रिय भेला स्थगित गरिएको छ ।