File Photo
नेपालगन्ज ५ चैत : नेपाली काँग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण बनिनसकेको प्रतिक्रिया दिएको छ ।
सरकारको नेतृत्व लिन काँग्रेसले आनाकानी गरेको आरोप लागिरहेका बेला प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालिन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने राजनीतिक वातावरण तयार नभएको प्रतिक्रिया दिएका हुन् ।
प्रवक्ता शर्माले दलहरुभित्रका सांसदबीच अन्तर कलह रहेको र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आइनसकेकाले पार्टीले सरकारको नेतृत्व गर्न अग्रसर नभएको बताए । उनले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषणपछि पार्टी निर्णयमा पुग्ने जानकारी दिए ।
प्रतिनिधिसभा निर्वाचनमार्फत जनताले सरकार चलाउन दिएको म्याण्डेट खण्डित भइसकेको भन्दै अब काँग्रेस प्रतिपक्षमा नै बस्नुपर्छ भन्नेमा आफूहरु नरहेको तर, दलका सांसद विभाजित हुने अवस्था आँकलन गरेर नेतृत्व लिन अग्रसर नभएको उनको भनाइ छ ।
‘सिंगोसिंगै दलहरु रहेर सुनिश्चित ढंगले नेपाली काँग्रेस पार्टीलाई नै प्रस्तावित गरेको अवस्था नबनी प्रधानमन्त्री पदका लागि दौरासुरुवालमा आईरन गरिहाल्ने बेला भएको छ भन्ने हामी मान्दैनौं’ शर्माले भने ।
नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी भित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरुले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दै काँग्रेसले निर्णय गर्नु हतार हुने शर्माले बताए ।
यसअघि, नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले १० दिनभित्र काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका थिए ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले हप्ता दश दिनभित्र माओवादी र जसपासँग मिलेर काँग्रेसले सरकार बनाउने बताएका हुन् । विराटनगरमा काँग्रेसका महामन्त्री डाक्टर कोइरालाले यस्तो बताइरहँदा नेपाली काँग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सो बताएका हुन् ।
‘१० दिनभित्र ओली सरकारको विकल्पका लागि संसद्मा अविश्वास प्रस्ताव दर्ता हुन्छ’, उनले भने, ‘काँग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्रीको विकल्प दिन्छन् ।’
उनले अविश्वासको प्रस्तावपछि काँग्रेसको नेतृत्वमा चुनावी सरकार गठन हुने र मंसिरमा संघीय संसद्को निर्वाचन गराउनु पर्ने बताए ।